‘स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरी साधारणसभा गराैँ भन्दा हताेत्साहित पार्न खाेजियाे’
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका उमेदवार चन्द्रप्रसाद ढकालले सजग भएर, स्वास्थ्य सम्बन्धी प्रोटोकलहरु पूर्ण रुपमा लागू गरेर महासंघकाे साधारणसभा गर्न सके लाभ हुने बताएका छन् ।
ढकाल नेतृत्वको समूहले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्ताे बताएका हुन् । लकडाउन खुकुलाे हुँदै गएकाे याे अवस्थामा निर्वाचन सार्नुभन्दा पनि प्रोटोकलहरु पूर्ण रुपमा पालना गरी समयमै साधारणसभा सम्पन्न हुँदा संस्थाको गरिमा, साख र मर्यादा कायम रहने उनकाे भनाइ छ ।
महासंघको पदाधिकारी र पूर्वअध्यक्षहरुसहितको बैंठकले यही साउन २६ र २७ गतेको लागि तोकिएको निर्वाचन तथा साधारणसभा सार्ने निर्णय गरेको थियो । सो निर्णयबारे प्रतिक्रिया राख्दै ढकालले यस्ताे तर्क राखेका हुन् ।
आफूले स्वास्थ्यसम्बन्धी मापदण्डहरु लागू गरेर सञ्चालन गराैँ भन्ने राय राख्दा आफूलाई हताेत्साहित पार्न खाेजिएकाे पनि उनले बताएका छन् । ‘मैले स्वास्थ्यसम्बन्धी मापदण्डहरु लागू गरेर नेपाल उद्योग वाणिज्य महासंघको साधरणसभा सञ्चालन गरौँ भन्ने राय राखेको थिएँ । यस्तो राय राख्दा महासंघकै पदाधिकारी साथीहरुले स्वास्थ्यभन्दा महासंघ ठूलो हुन सक्दैन भनेर मलाई हतोत्साही बनाउने प्रयास गर्नुभयो’, उनले भने ।
समयमै साधारणसभा हुन नसक्दा पुरानो नेतृत्व आफ्नो जिम्मेवारीबाट पन्छिने र नयाँ नेतृत्वले जिम्मेवारी लिन नचाहने स्थिति रहेकाे भन्दै उनले यस्ताे अवस्था रहिरहे संस्था बेवारिसे हुन सक्ने अवस्था देखिएकाे पनि बताए । साधारणसभा भयो भने त्यसले नयाँ नेतृत्व दिने, त्यो नेतृत्वले कोरोनाबाट प्रभावित उद्यम, व्यापारलाई जोगाउन सरकार, नियामक निकायहरुसँग एउटा युनाइटेड भ्वाइस लगेर जान सक्ने उनकाे तर्क छ ।
यस्तो जटिल परिस्थितिमा सबल, सक्षम र डाइनामिक नेतृत्वको आवश्यकता छ भनेर आवाज उठाउँदा उल्टै आफूलाई पदमा पुग्न हतार गरेको आरोप लागेकाे उनकाे गुनासाे छ । उनले भने, ‘साधरणसभा अघि म उपाध्यक्ष हुँ, साधरणसभाले मलाई विजयी बनाएपछि पनि म हुने वरिष्ठ उपाध्यक्ष नै हो । म कार्यकारी अधिकार भएको पोस्टमा पुग्ने पनि होइन । त्यसैले महासंघको साधारणसभाबाट मलाई कुनै ठूलो लाभ हुने, वा व्यक्तिगत महत्वाकांक्षा पूरा हुने पनि होइन ।’
सबै जना एकीकृत भएर अघि बढ्ने हो भने साधरणसभा दुई/चार दिन वा महिना होइन्, चैतमा गर्दा पनि आफूलाई आपत्ती नहुने उनकाे भनाइ छ । महासंघका पदाधिकारीको आकस्मिक बैठक राखेर साधारणसभालाई अनिश्चित समयसम्मका लागि धकेल्नु आपत्तीजनक रहेकाे उनी बताउँछन् ।
‘जस्तो हामीले साधारणसभाको मिति कार्यसमितिको बैठकबाट निर्धारण गरेका थियौं । जबकी हामीसँग फेरी कार्यसमिति बैठक बोलाउनका लागि प्रशस्त समय थियो । कार्यसमितिको अधिकारलाई हामीले कुल्चिने काम गर्यौं’, ढकालले भने, ‘यो अत्यन्तै दुखःद कुरा हो । यसले महासंघमा गलत प्रवृत्तिको विकास भएको छ । र मलाई स्यालले कुखुरा लग्यो भन्नेभन्दा पनि स्याल पल्कियो भन्ने कुराले बढी पिरोलेको छ ।’