सीमा सुरक्षामा खटिएका १८ जना सशस्त्र प्रहरीमा कोरोना पुष्टि
विराटनगर । कोरोना भाइरस (कोभिड १९) संक्रमणको महामारीमा अग्रपंक्तिमा रहेर सीमा सुरक्षामा खटिएका १८ जना सशस्त्र प्रहरीमा संक्रमण पुष्टि भएको छ ।
झापामा आज (शुक्रबार) २५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुमध्ये झापाको पूर्वी नाकामा सीमा सुरक्षामा खटिएका १८ जना प्रहरी रहेको झापाका सहायक प्रजिअ उमेश पाण्डेले मकालु खबरलाई जानकारी दिए । जसमध्ये एक महिला र १७ पुरूष रहेका छन् ।
सहायक प्रजिअ पाण्डेका अनुसार प्रहरीमा संक्रमण पुष्टि भएसँगै क्याम्पलाई पूर्ण सील गरिएको छ ।
आज २५ संक्रमित थपिएसँगै झापामा काेराेना संक्रमित संख्या ३४५ पुगेकाे छ । देशभर संक्रमितको संख्या १८ हजार ३४१ पुगेको छ । संक्रमितमध्ये १२ हजार ९४७ जना संक्रमणमुक्त भइसकेका छन् । पछिल्लाे २४ घण्टामा मात्रै १०७ जना कोरोना संक्रमित डिस्चार्ज हुँदा १३३ जनामा संक्रमण पुष्टि भएको छ ।
५ हजार ३८३ संक्रमित विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् । राैतहट, कैलाली र बाजुरामा ५ सय भन्दा बढी सक्रिय संक्रमितहरू रहेका छन् भने पाँचथर, भाेजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङमा संक्रमित देखिएका छैनन् ।