बाढी-पहिरो : १३५ जनाको मृत्यु, ५० जना अझै बेपत्ता
काठमाडौं । नेपालमा यो वर्षको मनसुन भित्रिएको शनिबार ४३ औं दिन हो । यो वर्ष देशभर भारी वर्षा, बाढी तथा पहिरोका घटनाले जनधनको क्षति ठूलो भएको तथ्यांकले देखाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषद्का अनुसार मनसुनको अवधिमा भारी वर्षा, बाढी तथा पहिरोका घटनामा कुल १३५ जनाको ज्यान गएको छ भने ५० जना अझै बेपत्ता रहेका छन् ।
देशभर यो अवधिमा सबैभन्दा धेरै पहिरोका कारण १२६ जनाको ज्यान गएको छ भने ४३ जना अझै बेपत्ता छन् । पहिरोबाट ३७८ परिवार प्रभावित भएकोमा २६६ घरमा क्षति पुगेको छ ।
यस्तै भारी वर्षाका कारण ६ जनाको मृत्यु तथा एकजना बेपत्ता रहेको परिषद्ले उल्लेख गरेको छ । देशभर भारी वर्षका कारण मनसुन अवधिमा ४४८ परिवार प्रभावित भएका छन् ।
यस्तै बाढीबाट अहिलेसम्म तीनजनाको मृत्यु भएको छ । अरु ६ जना बेपत्ता छन् । बाढीका कारण देशभर २०६ परिवार प्रभावित भएको परिषद्ले जनाएको छ ।
मनसुन अझै बाँकी रहेकाले विपद्का घटना र क्षति बढ्न सक्ने भन्दै सचेत हुन आग्रह गरिएको छ ।