शंकास्पद संक्रमित घुसेपछि उत्तर कोरियामा पहिलो पटक लकडाउन
काठमाडौं । उत्तर कोरियामा पनि कोरोनाको पहिलो केस देखिएको छ । उत्तर कोरियाली न्युज एजेन्सी केसिएनएले उत्तर कोरियामा कोरोनाको पहिलो केस रिपोर्ट भएको उल्लेख गरेको छ ।
देशमा कोरोनाको पहिलो केस देखिएपछि उत्तर कोरियाका नेता किम जोंग उनले आपतकालिन बैठक गरेको केसीएनएले जानकारी गराएको छ । रिपोर्टमा संक्रमित व्यक्ति जुलाई १९ मा दक्षिण कोरियाबाट काएसोङ शहर हुदै आएका थिए ।
उनलाई अहिले आवश्यक उपचार गर्दै क्वारेन्टाइनमा राखिएको केसिएनएले बताएको छ । नेता किमले अहिले आइसोलेसनका सबै उपाय अपनाउन निर्देशन दिदै काएसोङ शहर इलाकालाई सतर्क बनाएको बताइएको छ ।
साथै उत्तर कोरियाका नेता किम जोङ उनले पहिलो पटक बन्दाबन्दी (लकडाउन)को घोषणा गरेका छन् । तर, यो बन्दाबन्दी देशभर नभइ दक्षिण कोरियाको सीमा नजिकको शहर काएसोङमा मात्र लगाइएको हो । यस अघि उत्तर कोरियामा कोरोना संक्रमित रहेको बताइएपनि संक्रमण भएको आधिकारिक पुष्टि भएको थिएन ।