युरिया मल अभाव: किसान भन्छन्- ‘मल नपाएर रुनु पर्ने अवस्था छ’

  • ध्रुवराज खनाल

चितवन । चितवन खैरहनी १० शान्ति बजारका किसान हरिप्रसाद सापकोटाले असार १३ गते रोपाई गरे । रोपाई गर्दा डिएपी मल त सहज पाए,  प्रयोग पनि गरे । उनले एक विगाहा जमिनमा धान लगाएका छन् । प्रयोग गर्नुपर्ने बेला युरिया मल नपाउँदा उनी तनावमा थिए ।

सापटी लिएको ३० किलो युरिया मल उनले एक विगाहामा प्रयोग गरे । सामान्यतया रोपाई गरेको २० दिन कटेपछि युरिया मल प्रयोग गर्ने गरिन्छ । तर एक महिना बित्दा समेत मल प्रयाेग गर्न नपाउँदा किसानहरू निराश मात्रै छैनन्,  धानको उत्पादन घट्ने समेत चिन्ता छ ।

‘धेरै ठाउँमा खोजियो पाइएन, समूहको सिफारिस लिएर भैरहवा समेत पुगियो । त्यहाँबाट पनि उपलब्ध भएन’,  शान्ति बजारका किसान सापकोटा भन्छन् – ‘गाँज लाग्ने बेला ३० किलो मलले एक विगाहामा कनिका छरे जस्तो गरेर प्रयोग गर्नुपर्यो ।’

धानलाई गाँज लाग्ने बेला युरिया मलको आवश्यकता पर्छ । सोही ठाउँका अर्का किसान हेमलाल सापकोटाले युरिया मल नपाएपछि डिएपी नै प्रयोग गरे । रोपाईं गर्दा डिएपी प्रयोग गरिन्छ । मल आउला भन्ने आशमा बसियो तर उपलब्ध भएन । डिएपीमा अन्य तत्व मिसाएर प्रयोग गरे । प्रयोग गरेको मलले काम गर्नेमा उनी विश्वस्त भने छैनन् ।

धान जोन संचालक समिति अध्यक्ष तेज प्रसाद वर्तौला युरिया मल नपाउँदा किसान रोएर बस्नु परेको बताउँछन् । उनले पनि मल पाएका छैनन् । युरिया मल नपाउँदा चिनी मल र डिएपी मल मिसाएर प्रयोग गर्ने तयारीमा रहेको वर्तौलाले सुनाए । उनले १८ कठ्ठामा धान खेती गरेका छन् । ‘किसान मल नपाएर रुनु पर्ने अवस्था छ । कतै कालोबजारी भएको सुनिन्छ, किसानको समस्यामा राज्य बेखबर छ, ’ वर्तौला भन्छन् ।

कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकाल युरिया मल अभाव हुँदा किसानको विजोग भएको बताउँछन् । ‘मल नितिमा स्टक राख्नुपर्ने उल्लेख छ । आवश्यक पर्ने बेला मल नपाए पछि प्रयोग गर्नुको अर्थ छैन, ’ ढकालले भने ।

चितवनमा वार्षिक १० हजार मेट्रिक टन मल आवश्यक पर्छ । तर त्यो अनुसार आपूर्ति हुने गरेको छैन । चितवनमा २५ प्रतिशत असार पहिलो साता रोपाईं भएको उल्लेख गर्दै ज्ञान केन्द्र प्रमुख ढकालले ति धान बिग्रने अवस्थामा पुगेको बताए । ‘रोपाईं भएको डेढ महिना लाग्न सकिसक्यो मल पाइएको छैन । गाँज लाग्ने बेला प्रयोग गर्न नपाए उत्पादन घट्ने निश्चित छ’ ढकालले भने । चितवनमा १९ हजार हेक्टरमा वर्षे धान लगाईएको छ ।

सरकारले साल्ट्र टेड्रिङ कप्रोरेसन लिमिटेड र कृषि सामाग्री कम्पनीलाई मल आपूर्तीको जिम्मा दिएको छ । कृषि सामाग्री कम्पनी चितवनका प्रमुख रविन्द्र गौतम तत्काल युरिया मल नआउने बताउँछन् । गौतम भन्छन्– ‘संघबाट केही जानकारी आएको छैन् यो महिना पक्कै आउँदैन, सम्भवत् भदौमा आउँछ की !’ भारतबाट युरिया मल ल्याउन सम्भव नभएको भन्दै चिनबाट मल अघि बढे, नबढेको जानकारी नआएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *