तीनवटा आयोगका वार्षिक प्रतिवेदन अध्ययन गर्न बन्यो उपसमिति
काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले विभिन्न तीनवटा आयोगको वार्षिक प्रतिवेदन अध्ययन गर्न उपसमिति गठन गरेको छ ।
समितिको बुधबार (आज) को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र लोकसेवा आयोगको वार्षिक प्रतिवेदनमाथि अध्ययन गर्न उपसमिति गठन गरेको हो ।
समितिका सभापति शशी श्रेष्ठका अनुसार प्रतिनिधि सभा नियमावली २०७५ को नियम १८२ बमोजिम समितिको आन्तरिक काम कारबाही सञ्चालन गर्न वा समितिको कार्यक्षेत्रभित्रको विषयको अध्ययन गरी प्रतिवेदन दिन समितिका सदस्यहरु मध्येबाट उपसमिति गठन गर्न गर्न सकिने प्रावधानअनुसार गठन गरिएको हो ।
सांसद रेखा शर्माको संयोजकत्वमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन अध्ययन उपसमिति गठन भएको छ भने सदस्यमा सांसदहरु झपड रावल, अमरेशकुमार सिंह, नवराज सिलवाल छन् ।
यस्तै, निर्वाचन आयोगको वार्षिक प्रतिवेदन अध्ययन उपसमितिमा सांसद यसोदा सुवेदीको संयोजकत्वमा गठन भएको छ । यस्तै सांसदहरु देवेन्द्रराज कंडेल, छक्कबहादुर लामा, तिर्था गौतम, प्रेम सुवाल सदस्य छन् ।
लोकसेवा आयोगको वार्षिक प्रतिवेदन अध्ययन उपसमितिमा सांसद विजय सुब्बा संयोजक तथा डिला संग्रौला, रामसहाय प्रसाद यादव, लक्ष्मीकुमारी चौधरी सदस्य छन् ।
सबै उपसमितिले आन्तरिक कार्यविधि आफैं निर्माण गरेर अध्ययन गर्न सक्नेछन् ।