धरानमा खाद्यान्न र औषधी वाहेक अन्य पसल विहान ९ देखि बेलुकी ५ बजेसम्म मात्र खोल्न दिइने
धरान । कोरोना संक्रमणको जोखिम उच्च भएपछि धरानमा खाद्यान्न र औषधी पसल वाहेक अन्य पसलहरु अब विहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म मात्र खोल्न दिइने भएको छ ।
आज धरान उपमहानगरपालिकामा आयोजित सर्वपक्षीय छलफलले त्यस्तो निर्णय गरेको हो । कोरोना संक्रमणको जोखिम कम गर्न धरानमा बिहान ९ बजेदेखि ५ बजेसम्म अत्यावश्यक वस्तु वाहेकका पसल खोल्न दिने निर्णय भएको हो ।
बैठकमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, चिकित्सक, राजनीतिक दलसहितको सहभागीता थियो । अब धरानमा अत्यावश्यक वाहेकमा पसलहरु विहान ९ बजे र बेलुकी ५ बजेपछि खोल्न पाइनेछैन ।
धरानमा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको हुनसक्ने आशंका गर्दै उच्च सतर्कता अपनाउँदै भिडभाड कम गर्न त्यस्तो निर्णय गरीएको बताइएको छ ।
बैठकले कोरोना विरामी ओसार–पसार गर्ने एम्बुलेन्स र मृत्यु भएकाको शव लैजाने शव वहान व्यवस्थापन गर्न भोली ११ बजे एम्बुलेन्सवाला र शववाहन चलाउने संस्थाको संयुक्त वैठक बोलाउने निर्णय गरेको छ ।
यसैगरी आजको बैठकले सार्वजनिक सवारीहरुलाई सरकारले तोकेको मापदण्ड पुरा गरेर मात्र चलाउन दिने निर्णय गर्दै त्यसको समेत नियमित अनुगमन गर्ने भएको छ ।
इटहरी उपमहानगरपालिका पूर्ण बन्द
यता सुनसरीकाे इटहरी उपमहानगरपालिकाको योजना शाखाका एक इन्जिनियरमा कोरोना सङ्क्रमण पुष्टि भएपछि इटहरी उपमहानगरपालिका र सबै वडा कार्यालयको कामकारबाही पूर्ण रूपमा बन्द गर्ने निर्णय भएकाे छ । इटहरी उपमहानगरको आकस्मिक बैठकले त्यस्ताे निर्णय गरेकाे हाे ।
पहिलो चरणमा उपमहानगर र २० वटै वडा कार्यालयमा कार्यरत सबै कर्मचारी, जनप्रतिनिधिको स्वाब परीक्षण गर्ने र त्यसपछिको अवस्था हेरेर मात्रै कार्यालय खोल्ने बैठकमा निर्णय भएको छ । इटहरी भित्र लाग्दै आएको हाटबजार पूर्ण रूपमा बन्द गर्ने, बाहिरी पसल, होटेल तथा व्यवसाय स्वास्थ्य अवस्थालाई ध्यान दिएर मात्रै खोल्न पाउने पनि निर्णय भएको छ ।