पापडमा बेलिएकाे एउटा संघर्षशील जीवनः ‘सानो घर बनाउने ठूलो सपना’
सुनसरी । भाेजपुरमा जन्मिएकी ४४ वर्षीय देवी दर्जी धरान आएको १८ वर्ष भयाे । आफ्ना सपना पुरा गर्न धरान छिरेकी उनी त्यसैकाे प्राप्तिका लागि सडकमा संघर्ष गरिरहेकी छिन् ।
देवीले धरानको हरेको ठाउँ डुल्दै फिङगर चिप्स अर्थात् ढुङग्रे चिप्स र भुटेकाे मकैकाे पाेकाे बेच्न थालेकाे १० वर्ष पुगिसकेकाे छ । उनले यहि पेसामा निर्भर रहेर आफू र आफ्नो परिवारको गुजारा चलाइरहेकी छिन् । भन्छिन्– ‘काम गरेर खान लाज मान्दिन । काम नगरी कसरी बाँचिन्छ ?’
धरान २ को छाताचौक गेटमै भेटिएकी उनी धरानको गणेश टाकिज हलको छेउमै सानो नाङलो पसल सञ्चालन गरेर बसेकी थिइन् । अहिले उनको पसल त्यहाँ छैन । अहिले त उनी धरान बजारको पुरै चाेक परिक्रमा लगाउँछिन्, उही फिङगर चिप्स र मकै बाेकेर । सुरु सुरुमा आफ्ना दुधे बालक समेतलाई पिठ्युँमा बोकी पसल-पसल पुग्दै मकै र चिप्स बेचेका दिनहरु पनि उनले स्मरण गरिन् ।
‘सिनेमा हल अगाडी पसल राख्दा थोरै बिक्री हुन्थ्यो । श्रीमान् पनि त्याे समय मजदुरी गर्नुहुन्थ्याे । अहिले त म आफैँ बेलुकीसम्म डुलेर बेच्छु । दिनमा ७ देखि ८ सय रुपैयाँ बराबरको चिप्स बेच्छु । कमाइ राम्राे छ । दुवैले काम गर्न थालेदेखि परिवार पनि राम्राेसँग चलेकाे छ’, उनले भनिन् ।
उनले एउटा प्याकेटमा १० वटा फिङगर चिप्स हाल्छिन् अनि ती पोको नगद २० मा बेच्छिन् । मकै भने ताैल अनुसार कुनै २० त कुनै ३० मा बेच्छिन् । ‘मैले सुरुमा फिङगर चिप्स बेच्दा एक रुपैयाँमा तीन वटा बेच्थेँ । अहिले २० रुपैयाँमा १० वटा बेच्छु । महंगी निकै बढेकाे छ’, उनले सुनाइन् ।
अहिले भने उनकाे श्रीमान् काठकाे काम गर्छन् । उनको बसाईँ भानुचौक गणेश टाकिज सिनेमा हलको छेउ रहेकाे छ । मासिक ३ हजार भाडा तिर्नुपर्छ । दर्जी र उनका श्रीमानले महिनामा करिब ७० हजार जतिको कमाई गर्छन् । कमाइ अझै राम्राे हुँदै गएमा भविष्यमा सानाे घर बनाउने सपना छ देवीकाे ।
सुरूका दिनमा भन्दा अहिले अलि सुख पनि पाएकी छिन् । विगत सम्झँदै देवीले भनिन्- ‘भाेजपुरबाट परिवार छाेडेर धरान आउँदाताका निकै कष्टकर दिनहरू बिताएँ । तर हार मानिनँ कहिल्यै । संकटमा जिन्दगी जिउनुको मज्जा पनि बेग्लै हुन्छ नि !’
सानाेमा उनले राम्राेसँग पढ्नै पाइनन् । यही कारण पनि उनलाई आँखाको एउटा ज्याेति नै गुमाए जस्ताे भान हुन्छ । पछुताे छ, पढाइ पुरा गर्न नसक्नुमा । उनी भन्छिन्, ‘अक्षर भनेको आँखा हो, यसले जीवन देख्न, बुझ्न सिकाउँछ भन्ने लाग्छ । सायद पढेकाे भए यस्ताे दुःख हुँदैन थियाे कि ।’
कलिलै उमेरमा विवाह भयाे । बिहेको दुई/तीन वर्षमै उनले छाेराे जन्माइन् । बच्चा जन्मिएपनि काम राेकिएन । घरमा जहान थपिएपछि खर्च पनि बढ्यो । घर खर्च धान्न दर्जी छोरोलाई पिठयुँमा बाँधी व्यापार गर्थिन् । जीवनमा उनी दुःखी कहिल्यै भइनन् । सुन पाएकाे हेक्का पनि छैन ।
चिप्स बेचेर दिनमा पाँच र छ सय जति बच्छ उनकाे । त्यही कमाइले छाेराछाेरी पढाइरहेकी छिन् । ‘यति कमाएँ भनेर हिसाब किन गर्नुपर्यो र । यही कमाएर छोराछोरी पढाउँदैछु । एक छाक खान पाइनँ भनेर कसैसँग माग्नु परेकाे छैन’, उनी सन्तुष्ट सुनिइन् ।
पाैरखी देवी स्वस्थ पनि छिन् । गरिबलाई रोग नलाग्ने उनकाे तर्क छ । भन्छिन्, ‘रोगलाई त कामले नै पेलिहाल्छ नि । गरिबहरुलाई कुनै बाधाले रोक्दैन । जति सुख खोज्यो त्यति रोग लाग्छ ।’