बेपत्ता स्वास्थ्यकर्मीमध्ये एकको शव भेटियो

डोटी । डोटीको सेती नदीमा नुहाउन गएका बेला बेपत्ता भएका डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मीमध्ये एकजनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख जनकराज पाण्डेले दिनुभएको जानकारी अनुसार डडेल्धुराको परशुराम नगरपालिका घर भएका स्वास्थ्य सहायक हरिश जोशीको शव डोटीको केआइसिंह गाउँपालिका-५ को बुवातडा भन्ने स्थानमा फेला परेको हो ।

नदीले बगाएर लैजाँदै गरेको अवस्थामा उनको शव फेला परेको प्रहरी प्रमुख पाण्डेले बताए । उनले भने, ‘नदीले बगाउँदै गरेको अवस्थामा एकजनाको शव भेटिएको छ, शव परीक्षणका लागि जिल्ला पुर्याइएको छ ।’

शनिबार डोटीस्थित शैलश्वरी मन्दिर दर्शन गरी फर्कने क्रममा शिखर नगरपालिका-१० बानीडुग्रीसैनस्थित सेती नदीमा बझाङ घर भई सो अस्पतालमा कार्यरत स्वास्थ्य सहायक (हेल्थ असिटेण्ट) विनयबहादुर सिंह र जोशी नदीमा बेपत्ता भएका थिए ।

नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको गोताखोर टोलीले बेपत्ता अर्का स्वास्थ्यकर्मी सिंहको शव खोजी जारी राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *