संक्रमित बढेपछि इटहरीमा पाँच दिनका लागि लकडाउन, छलफलमा धरान

सुनसरी । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि इटहरी उपमहानगरपालिकाले ५ दिन लकडाउन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको आपतकालिन बैठकले इटहरीमा बुधबारदेखि बिहान ७ बजेदेखि ५ दिनसम्म लागुहुने गरी लकडाउन गर्ने निर्णय गरेको हो ।

उपमहानगरले जारी गरेको लकडाउन उलंघन गरे कडा कारबाही गरिने जनाइएको छ । लकडाउनमा इटहरीको व्यापार व्यवसाय खोल्न नपाउने, अति आवस्यकिय काम बाहेक घरबाट बाहिर निस्कन नपाइने निर्णयहरू गरेको छ । लकडाउन अवधिमा तरकारी डुलाउन पाइनेछ भने दुध, कुटनीतिज्ञ र पत्रकारका सवारीलाई रोक लगाइएको छैन ।

हाल इटहरीमा समुदायस्तरमा जम्मा ९ जनामा कोरोना संक्रमण देखिएको छ । यो संख्या संगै इटहरीमा कोरोनाबाट संक्रमित हुनेहरू २३ पुगेको छ । समुदायमै कोरोनाको संक्रमण फैलिन थालेपछी पुनः लकडाउन हुन थालेको छ । संक्रमण देखिएका स्थानीय तहहरुले लडाउन गर्ने निर्णय हरेका छन् ।

उता सुनसरी सदरमुकाम इनरुवा नगरपालिकाले पनि मंगलबार ४ बजेदेखि लकडाउनको घोषणा गरेको छ । साउन २६ गते राती १२ बजे सम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य र सरसफाई बाहेकका अन्य सम्पूर्ण सेवा सहित बजार पसल तथा सरकारी कामकाज पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । इनरुवा नगरपालिकाका मेयर राजन मेहताले निर्णयलाई उल्घन गर्ने जो कोहीलाई पनि क्वारेन्टाईनमा लगेर राख्ने चेतावनी समेत दिएका छन् ।

आवश्यक निर्णय लिन छलफल गर्दै धरान
लकडाउनबारे आवश्यक निर्णय लिन धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक बिहान ८ बजे बोलाइएको छ । उक्त बैठकले लकडाउनबारे निर्णय गर्ने मेयर तिलक राईले जानकारी दिए ।

धरानमा पनि कोरोना संक्रमितको संख्या बढिरहदा संक्रमण समुदायस्तरमा फैलिएको भन्दै लकडाउन गर्नुपर्ने आवाज सर्वसाधारणहरुले उठाइरहेका छन् । यसअघि उपमहानगरपालिकामा भएको छलफलले लकडाउन गर्ने निर्णय नगरी बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म मात्र बजार खोल्न दिने निर्णय गरेको थियो ।

औषधी र खाद्यान्नलगायत अत्यावश्यक पसल भने चौबिसै घण्टा खुला गर्ने निर्णय थियो । यो निर्णय पछि पनि धरानमा विभिन्न वडामा संक्रमण पुष्टि हुन थालेपछि लकडाउन गर्नुपर्ने दबाब उपमहानगरपालिकालाई परेको छ ।

अझ छिमेकी इटहरी उपमहानगर र इनरुवा नगरपालिकाले मंगलबार लकडाउन गर्ने निर्णय गरेको छ भने दुहबी नगरले पनि कार्यालय र बजार क्षेत्र सिल गर्ने निर्णय गरेपछि धरानमा पनि लकडाउन गर्नुपर्ने दबाब परेको छ । हाल सम्ममा धरानमा २८ जनामा संक्रमण भएको पुष्टि भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *