सरकारले लकडाउनबारे सोचेको छैन : सरकार प्रवक्ता
काठमाडौं । सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सरकारले बन्दाबन्दी (लकडाउन)को बारेमा नसोचेको बताएका छन् ।
बिहीबार (आज) नियमित पत्रकार सम्मेलनमार्फत् प्रवक्ता खतिवडाले सरकारले लकडाउन गर्नेबारे नसोचेको बताएका हुन् ।
तर उनले कोभिडको जोखिम हेरेर जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारहरूले भने लकडाउनबारे निर्णय लिन सक्ने बताए ।
स्थानीय प्रशासनको निर्णय अनुसार केही जिल्लामा लकडाउन रहेको उल्लेख गरेका अर्थ तथा सञ्चार मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका खतिवडाले भने, ‘पूर्ण लकडाउन हुन्छ की भनेर त्रस्त हुनुपर्ने अवस्था छैन ।’
यस्तै उनले संक्रमितको संख्या बढ्दै गएकाले तत्कालै उद्धार भएर सार्वजनिक यातायात, विद्यालय वा अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने अवस्था नभएकोतर्फ पनि सचेत गराए ।
खतिवडाले भदौ १ गतेबाट खोल्ने भनिएका लामो दूरीका यातायात, अन्तर्राष्ट्रिय उडान लगायतका विषयमा पुनर्विचार हुनसक्ने संकेत गरे ।