भारतमा पहिरोले पुरिएर ९ को मृत्यु, ५७ बेपत्ता
भारत । भारतको केरलामा पहिरोले पुरिएर कम्तीमा नौ जनाको मृत्यु भएको छ भने अरु ५७ जना बेपत्ता भएका छन् । केरलाको इडुक्की जिल्लामा पर्ने राजमालामा शुक्रबार ठूलो पहिरो आएको अधिकारीहरुले जानकारी दिएका छन् ।
समाचार एजेन्सी एएनआईका अनुसार पहिरोले पुरेर बेपत्ता भएकाहरुको खोजी तथा उद्धारको प्रयास भइरहेको छ । कामदारको आवास भवनलाई पहिरोले क्षतीग्रस्त बनाएको छ ।
बेपत्ता भएकाहरुको खोजी तथा उद्धारका लागि ५० सदस्यीय टोली खटाइएको अधिकारीहरुले जनाएका छन् ।
उद्धारमा खटिएकाहरुले बेपत्ता भएकाहरुलाई पत्ता लगाउनका लागि पटक पटक धेरै प्रयासहरु गरिरहेको केरलाका मुख्यमन्त्री पिनारायी विजयनले जानकारी दिए ।
उद्धारका लागि राजमालामा राष्ट्रिय प्रकोप व्यवस्थापन फौजबाट पनि अर्को टोली गएको जनाइएको छ ।
मुख्यमन्त्रीको कार्यालयले पहिरोमा परेकाहरुलाई उद्धारका लागि हेलिकोप्टर उपलब्ध गराउन सम्पर्क समेत गरेको थियो ।
अत्यधिक बर्षाका कारण भारतको केरला क्षेत्रका धेरै ठाउँ प्रभावित भएको छ । कतिपय ठाउँमा बाढी पहिरोले मानवीय क्षति नै गराएको छ भने कतिपय ठाउँमा लाखौँको भौतिक संरचनामा क्षति पुगेको छ ।
यसैबीच चिनियाँ समाचार संस्था सिन्हवाले भने केरलामा आएको पहिरोका कारण कम्तीमा १५ जनाको मृत्यु भएको र १२ जनाको उद्धार गरिएको जनाएको छ । एजेन्सी