खैरहनीमा शीत भण्डार निर्माण तीव्र, ५० प्रतिशत काम सकियो

  • ध्रुवराज खनाल

चितवन । चितवनको खैरहनीमा बहुउद्देश्यीय शीतभण्डार निर्माणको काम तीव्र रुपमा भइरहेको छ ।

प्रदेश सरकार, खैरहनी नगरपालिका र नगरभित्रका सहकारी संस्थाहरुको साझेदार लगानीमा खैरहनी ८ सुर्तनीमा शीत भण्डार निर्माण भइरहेको हो ।

प्रदेश सरकारबाट ७० प्रतिशत र खैरहनी नगरपालिका तथा यहाँका सहकारी संस्थाहरुको ३० प्रतिशत लगानी शीत भण्डारमा रहनेछ । एक वर्षअघि निर्माण सुरु गरिएको यस शीत भण्डारको हालसम्म ५० प्रतिशत काम सकिएको खैरहनी नगरपालिका मेयर लालमणि चौधरीले जानकारी दिए ।

१२ करोड ९४ लाखको लगानीमा तयार हुने सो शीतभण्डारमा एक हजार ५०० मेट्रिक टन कृषि उत्पादन अट्ने क्षमता रहेको मेयर चौधरीले बताए । बहुउदेश्यीय परियोजनका लागि निर्माण हुने यो शीत भण्डार जिल्लाकै पहिलो हो । यसै आर्थिक वर्षभित्र शीत भण्डार निर्माण सम्पन्न हुने मेयर चौधरीको भनाई छ । यहाँ किसानले उत्पादन गरेको तरकारी, फलफूल, दूध, माछा र मासु भण्डारण गर्न पाउनेछन् । ‘किसानले उत्पादन गरेको दूध, तरकारीले बजारभाउ नपाएर फाल्नुपर्ने अवस्था छ  । मुल्य नपाउँदा शीत भण्डारमा राख्न सकिन्छ,मुल्य आएपछि किसानले आफ्नो उत्पादनको उचित मुल्य पाउने छन्’, मेयर लालमणि चौधरीले भने ।

कतिपय किसानहरुले तरकारी बिक्री नभएर खेतमै जोत्ने गरेका छन् । मेयर चौधरीले थपे, ‘गोबर सोरेर दुहेको दूध सडकमा फाल्नुपर्ने अवस्था आउने गरेको छ । किसानले उत्पादन गरेको तरकारी खेतमै जोतिएको छ, अब यो अवस्थाको अन्त्य हुन्छ ।’

शीतभण्डारमा किसानले उत्पादन गरेको कृषि उपज सामग्री एक महिनासम्म भण्डारण गर्न मिल्ने गरी भवन निर्माण गरिएको छ । फलाम र स्टील प्रविधिबाट निर्माण भइरहेको सो शीतभण्डारको भवनमा छानो र प्लेट हाल्ने काम बाँकी रहेको छ ।

नगरपालिका र नगरभित्रका सहकारीहरुको सहकार्यमा शीतभण्डार सञ्चालन हुने मेयर चौधरीले बताए । प्रदेश सरकारको एक जिल्लामा एउटा शीतभण्डार निर्माण गर्ने योजनाअनुरुप चितवनको खैरहनीमा सो शीतभण्डार निर्माण सुरू भएको हो । सो शीतभण्डारको २०७६ साल साउन महिनामा बागमती प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले शिलान्यास गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *