१ अर्बको लगानीमा कागज उद्योग, केही दिनमा उत्पादन सुरु हुने

चितवन । चितवनको भरतपुरमा मुख्य कार्यालय रहेको क्वालिटी पेपर इन्डट्रिज प्रालिले कागज उत्पादन गर्ने भएको छ ।

चितवन मुख्य कार्यालय रहे पनि नवलपुरको मध्यविन्दु, अरुणखोलाबाट उत्पादन थालिने बुधबार भरतपुरमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।

कागजजन्य फोहोरलाई पुनः प्रशोधन गरी दुई प्रकारका गुणस्तरीय कागज उत्पादन गर्ने लक्ष्यसहित उद्योग सञ्चालन गर्न लागेको प्रालिका प्रबन्ध निर्देशक राजन पियाले जानकारी दिए ।

नेपालमै पहिलोपटक युरोपियन प्रविधिको प्रयोग गरी वातावरण प्रदूषणलाई रोक्ने गरी कागज उद्योग स्थापना गरिएको उनको भनाइ छ । करिब १५० जनालाई प्रत्यक्ष रोजगारी दिने गरी एक अर्ब रुपैयाँ लगानीमा उद्योग सञ्चालन गर्न लागेको उनले बताए ।

त्यसमध्ये ८० प्रतिशत स्थानीयले रोजगार पाउने उनको दाबी छ ।

उत्पादन भने केही दिन पछि हुने छ । नेपालमा कागजजन्य फोहोर कति निस्कन्छ भन्ने यकीन नभए पनि हाल प्रारम्भिक रुपमा नेपाली बजारबाट निस्कने दैनिक १५० टन कागजजन्य फोहोर संकलन गरी दैनिक १२० टन कागज उत्पादन गर्ने लक्ष्य लिइएको उनले बताए ।

स्वदेशमै लगानी गरेर स्वरोजगार बन्न र स्थानीयलाई रोजगार दिलाउने उद्देश्यले नयाँ उद्योग सञ्चालनमा ल्याउन लागेको उनले बताए ।

उद्योगले उत्पादन थालेपछि नेपालमा विदेशी मुलुकबाट आउने कागजको केही हिस्सा पूरा गर्ने विश्वास लिइएको छ । हालसम्म नेपालमा यस्तै खालको कागज उद्योग वीरगञ्जमा एउटा र विराटनगरमा दुईवटा उद्योग सञ्चालनमा छन् ।

ती उद्योगबाट दैनिक १५० टन कागज उत्पादन हुँदै आएको उनले बताए । नयाँ यो उद्योगमा युवाहरुको लगानी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *