काेराेना संक्रमितकाे उपचार गर्न छाेडेर वीपीका पदाधिकारीहरू तारे हाेटलमा रमाएकाे प्रति तरूण दल र नेविसंघकाे विराेध
धरान । काेराेना भाइरसकाे चपेटामा धरान परिरहेकाे बेला प्रदेश १ कै सुविधा सम्पन्न स्वास्थ्य संस्था वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी र चिकित्सकहरू गैर जिम्मेवार भएकाे भन्दै नेपाली कांग्रेसकाे भातृ संगठन नेपाल तरूण दल र नेपाल विद्यार्थी संघले विराेध प्रदर्शन गरेका छन् ।
प्रदेश १ त्यसमाथि धरान उपमहानगरपालिका काेराेना भाइरसकाे चपेटामा परेकाे बेला काेभिड अस्पताल र प्रतिष्ठानकाे स्वास्थ्य सेवा नै बन्द गरेर पदाधिकारीहरू सिनेटका लागि जम्बाे टाेली सहित काठमाडाैं हान्निएपछि धरानमा ब्यापक विराेध भएकाे छ ।
स्वास्थ्य जस्ताे संवेदनशिल क्षेत्र नै बन्द गराएर पदाधिकारीहरू राजधानीकाे पार्क भिलेजमा दारू पार्टीमा मस्त हुनु गम्भिर लापरवाहि भएकाे ठहर गर्दै तरूण दल र नेविसंघले प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीकाे कार्यकक्षमा तालावन्दी गरी विराेधका कार्यक्रमहरू अगाडी सारेकाे नेपाल तरूण दल १ नं. क्षेत्रिय कार्यवाहक अध्यक्ष सम्पूर्ण ताम्राकारले बताए ।
‘देश नै काेराेनाकाे संक्रमणमा परेकाे बेला यहाँका पदाधिकारीहरू चैं सिनेट बैठककाे वहाना बनाएर राजधानीमा दारू पार्टीमा व्यस्त छन्, काठमाडाैंकाे पाँच तारे हाेटल पार्क भिलेजमा बसेर दारू पार्टी गर्नुकाे सट्टा यहाँ आएर मानविय धर्म निर्वाह गर्नाेस ।कोभिड अस्पताल र ओपिडीको व्यवस्थापन गरे राहत हुने थियो, हामी आग्रह गर्दछौं, कृपया यो समय सिनेट राख्नु उपयुक्त हैन, विरामीलाइ स्वास्थ्य सेवा दिनु ठूलो कुरा हो ।’ क्षेत्रिय कावा अध्यक्ष ताम्राकारले बताए ।
ताम्राकारले भाेली देखि अझ शशक्त विराेध हुने बताए । ‘वीपी प्रतिष्ठान धरानबासीकाे गहना र स्वास्थ्यकाे धराेहर हाे, यसकाे गरिमा र उपादेयतालाइ ध्वस्त बनाउने, वीपी प्रतिष्ठानकाे नाममा माेजमस्ति गर्ने अधिकार पदाधिकारीलाइ छैन, जबसम्म हाम्रा मागहरू संवाेधन हुँदैन हामीहरू अझ शशक्त भएर निस्कनेछाैं ।’
कोभिड अस्पताल तत्काल सञ्चालनमा ल्याउनु पर्ने माग राखी तरुण दल र नेपाल विद्यार्थी संघले प्रतिष्ठानको मुख्य प्रवेश द्वारमा आज प्रर्दशन गरेका हुन् ।
प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले प्रतिष्ठान सुधारमा ध्यान नदिएको आरोप लगाउँदै उनीहरूले प्रतिष्ठानमा रहेको वेथिति हटाइ सर्वसुलभ उपचारको व्यवस्था गर्न माग गरेका छन् ।
उनीहरुले उपकुलपतिसँगै प्रतिष्ठानका अन्य पदाधिकारी र चिकित्सक समेत गैर जिम्मेवार बनेकाे आरोप लगाएका छन् ।
धरान १८ बुद्ध चोकबाट नारा जुलुससहित प्रतिष्ठानको मुख्य प्रवेशद्वार पुगेका तरुणदल र नेविसंघ कार्यकर्ता प्रतिष्ठान भित्र प्रवेश गर्दै उपकुलपति कार्यकक्ष तर्फ जानलाग्दा प्रहरीले रोकेको थियो । सो क्रममा केही क्षण प्रहरीसँग ठेलमठेल समेत भएको थियो । जसमा तरूण दलका २ जना र प्रहरीका एक जना सामान्य घाइते भएका छन् ।
हिजाे मंगलबार उपकुलपतिकाे कार्यकक्षमा उनीहरुले लगाएको ताला केही बेरमा नै प्रहरीले तोडे पछि तरूण दल र नेविसंघ पुनः आज तालाबन्दी गर्न प्रतिष्ठान मुख्य प्रवेश द्वार पुगेका थिए ।
प्रहरीले उपकुलपति कार्यकक्ष तर्फ जान नदिएपछि उनीहरुले मुख्य प्रवेश द्वारभित्र विरोधसभा गरेका थिए । विराेध सभामा बाेल्दै तरूण दल धरान नगर अध्यक्ष हिमाल श्रेष्ठले वीपी प्रतिष्ठानमा भएका विक्रिति विसंगति अन्त्य हुनुपर्ने र स्वास्थ्य सेवा सुलभ हुनुपर्ने बताए । काेण सभामा नेविसंघका सचिव दाेर्ची शेर्पाले पनि संवाेधन गरेका थिए ।
यसैबीच प्रतिष्ठानको फर्माकोलोजि विभागका प्रमुखसमेत रहेका सिनेट सदस्य प्राध्यपक डाक्टर जीपी रौनियारले सिनेट बैठक तत्कालको लागि स्थगित गर्न माग गरेका छन् ।
प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्रि भानुभक्त ढकाललाई पत्र पठाउँदै डाक्टर रौनियारले कोराेनाको सँक्रमण फैलिरहेको अवस्थामा सिनेट गर्नु उपयुक्त नभएको र गर्नै पर्ने भए भर्च्युअल बैठक गर्न समेत माग गरेका छन् ।
यस अघि प्रतिष्ठानका सिनेट सदस्यसमेत रहेका धरान उपमहानगरपालिकाका मेयर तिलक राईले अहिलेको अवस्थामा सिनेट बैठक बस्न उचित नहुने भन्दै स्वास्थ्यमन्त्रीलाइ नै सिनेट बैठक स्थगित गर्न लिखित रुपमै आग्रह गरेका थिए ।