अनुमति बिना उपत्यका प्रवेश गर्न खोज्ने १९ हजारलाई नाकाबाटै फर्काइयो
काठमाडौं । अनुमति बिना काठमाडौं प्रवेश गर्न खोज्ने १९ हजारभन्दा बढीलाई विभिन्न नाकाबाट फर्काएको छ। गृह मन्त्रालयका अनुसार लकडाउन भएदेखि बिहीबारसम्म ७ हजार ६ सय ३५ गाडी र १९ हजार ४ सय ८३ जनालाई नाकाबाट फर्काइएको हो ।
अहिलेसम्म मास्क नलगाई हिँड्ने ४ लाख १९ हजार ५ सय ३८ जनालाई नियन्त्रणमा लिइएको छ। जसमध्ये ३ लाख ५४ हजार ८ सय २४ जनालाई सम्झाइएको र ३९ हजार ५ सय ७ जनालाई मास्क दिएर पठाइएको गृहमन्त्रालयले जनाएको छ । यस्तै प्रहरीले मास्क नलगाउने २५ हजार २ सय ७ जनालाई जरिवानासमेत गरेको छ।
सरकारले कोरोना संक्रमण नियन्त्रण तथा रोकथामको लागि साँझ ७ देखि बिहान ७ बजेसम्म उपत्यका प्रवेशमा रोक लगाएको छ।
काठमाडौं उपत्यका भित्र तथा धेरै संक्रमित रहेका जिल्लामा जोरबिजोर प्रणालीमा सवारी चलाउने दिने, आवागमनको लागि तोकिएको गाडीमात्र चल्न दिने, अनिवार्य मास्क लगाउनुपर्ने, व्यक्तिगत दूरी कायम गर्नुपर्ने लगायतका निर्णय सोमबारको मन्त्रिपरिषद् बैठकले गरेको छ। उक्त निर्णय अनुसार गृहले ७७ जिल्ला प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएको छ ।