पहिरोमा परेर एकैदिन १७ जनाको मृत्यु, २८ अझै बेपत्ता
काठमाडौं । मुलुकका विभिन्न क्षेत्रमा पहिरामा परेर शुक्रबार एकैदिन १७ जनाको मृत्यु भएको छ । अन्य २८ जना बेपत्ता छन् ।
सबैभन्दा ठूलो पहिरो सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीमा खसेको छ । त्यसगाउँमा मात्रै १० जनाको मृत्यु भएको र अन्य २८ जना बेपत्ता रहेका गृहमन्त्रालयअन्तर्गत राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी ओस्तीले जानकारी दिए । बेपत्ता भएकाको खोजी जारी छ ।
स्थानीयवासीले जोखिम क्षेत्र पहिचान गरी उच्च सावधानी अपनाउँदै आए पनि अन्ततः पहिराबाट जोगिएनन् । स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै बस्ती व्यवस्थापन गर्न मागसमेत गरे पनि सुनुवाइ हुन सकेको थिएन ।
आजै सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री रामबहादुर थापाले पहिराग्रस्त क्षेत्र पुगेर स्लथगत अनुगमन गरेका थिए । पाँच घाइतेलाई उपचार गरेर अस्पताल ल्याइएको छ । यस्तै सरकारबाट टेन्ट त्रिपालसहित केही राहत सामग्रीसमेत पु-याइएको छ ।
ओस्तीका अनुसार कालीकोटको महावै गाउँपालिका-३ नकुमा पनि पहिरामा परेर एकै परिवारका छ जनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते छन् । माथिबाट पहिराले उनीहरुको घर थिचेको थियो ।
मकवानपुरको थाहा नगरपालिका–१२ गैरीगाउँस्थित एक ढुङ्गाखानीमा माथिबाट पहिरो खस्दा आज एक जनाको मृत्यु भएको ओस्तीले जानकारी दिए । सोही क्रममा एउटा स्काभेटर र टिप्परमा क्षति भएको छ ।
यो वर्षको वैशाखदेखि आजसम्म पहिरामा परेर २०६ जनाको मृत्यु भएको छ । अझै ७१ जना बेपत्ता छन् । १६० भन्दा बढी घाइते भएका छन् । रासस