बाढी पीडितको सहयोगार्थ नेवि संघ बाजुरा-काठमाडौं सम्पर्क समितिले थाल्यो राहत संकलन अभियान
काठमाडौं । बाजुरामा आएको बाढी पहिरोका पीडितको सहयोगार्थ नेपाल विद्यार्थी संघ बाजुरा-काठमाडौं सम्पर्क समितिले राहत संकलन अभियान सुरु गरेको छ । बुधबार काठमाडौंमा आयोजना गरिएको सम्पर्क समितिका पदाधिकारीहरुको बैठकको निर्णय अनुसार आजबाट राहत संकलन अभियान सुरु गरिएको हो ।
सम्पर्क समितिको अध्यक्ष चन्द्र बहादुर रावतका अनुसार अभियान अन्तर्गत आज मात्रै नेवि संघ बाजुरा काठमाडौं सम्पर्क समितिका सचिव तथा युवा व्यवसायी थुमराज उपाध्यायले सबै भन्दा पहिला ५००१ रुपैया आर्थिक सहयोग गरी अभियान सुरु गर्नुभएको हो । यसैगरी नेपाली काङ्ग्रेस बाजुराका सचिव रन सिंह अयडीले ३१०० रुपैया, नेपाली काङ्ग्रेस बाजुराका युवा नेता तथा व्यवसायी प्रेम नाथले ५१००, नेपाली काङ्ग्रेस बाजुराका नेता पदम बहादुर नेपालीले ५१००, बडिमालीका ट्रेडिङ ईन्टरप्राईजेजका संचालक राजेन्द्र खत्रीले ५१००, नेवि संघ नेता निर्प कार्कीले २००० आर्थिक सहयोग गर्नुभएको छ ।
राहत संकलन अभियानको आरम्भ कार्यक्रममा नेपाली काङ्ग्रेस बाजुराका सभापति कविराज पण्डित, पूर्वभूमिसुधार सहायक मन्त्री जनकराज गिरी, नेपाली काङ्ग्रेसका युवा नेता बद्री पाण्डे, महासमिति सदस्य नेता पदम बहादुर शाही, नेपाली काङ्ग्रेस बाजुरा सचिव रन सिंह अयडी, नेवि संघ बाजुरा काठमाडौं सम्पर्क समितिका पूर्व अध्यक्ष तथा नेवि संघ बाजुरा काठमाडौं सम्पर्क समिति सल्लाहकार समितिका संयोजक जगतजंग बम, सल्लाहकार समिति सदस्य गंगाराम न्यौपाने, निर्प कार्की, गणेश राज पण्डित र युवा नेता ताल बहादुर रावत लगायत अग्रजहरुको सल्लाहमा यो कार्यक्रमको सुरुवात गरिएको सम्पर्क समितिका बरिस्ठ उपाध्यक्ष अमृत शाही र उपाध्यक्ष भरत राज जोशिले जानकारी दिनुभयो ।
आज सुरु गरिएको अभियान अन्तर्गत विभिन्न स्थानबाट राहत संकलन गरी भदौं दोस्रो साता बाढी पीडितहरुलाई हस्तान्तरण गरिने सम्पर्क समितिका सचिव थुमराज उपाध्यायले जानकारी दिनुभयो । बाढी पहिरोका कारण बाजुराको गौमुल गाउँपालिका, बडिमालिका नगरपालिका, बुढीगंगा नगरपालिका र त्रिबेणी नगरपालिकाका लगाएत अधिकांश क्षेत्रका बासिन्दा प्रभावित भएका छन् । यो दुखको घडिमा हामी ज्यानको बाजी लगाएर जन्मभूमि र पीडित दाजुभाइ दिदी बहिनीको लागि सहयोग गर्न जुटिरहेको सम्पर्क समिति सचिव तेज बहादुर सुनार र सदस्य गोविन्द बिष्टको भनाई छ ।
बुढिगंगा नदिमा आएको बाढीले साफे मार्तडी सडक पर्ने जडाङ्गाको बेलीब्रिज बगाउँदा सदरमुकाम जाने सडक समेत अबरुद्ध भएको छ । बाढीले नदीमा रहेका ५ वटा झुलङ्गे पुल बगाएको छ । प्राकृतिक प्रकोपले निम्त्याएको यो दुखद घडिमा सम्पर्क समितिले जनताको आवतजावत सहन बनाउन केन्द्रीय सरकारलाई दबाब दिने र पीडितलाई राहतका लागि सम्बन्धित निकायसँग पहल गर्ने राहत संकलन कोषका संयोजक तथा सम्पर्क समिति सदस्य टेक बहादुर सिह र भरत खडकाले जानकारी दिनुभयो ।
बाजुराको मुख्य राजमार्ग साफेँ मार्तडी सडक खण्डको ६०–६२ ठाउँमा पहिरो गएको छ । पुल बगाँउदा एक गाँउबाट अर्को गाँउको आवतजावतसँगै सम्पर्क विक्षेद भएको छ । ताप्रिसेरामा रहेको पक्किपुल २ हप्ता पहिला बगाएको थियो भने बेलिब्रिज आइतबार राति बगाएको छ । यस दुखको घडिमा देश तथा विदेशमा रहेका नेपालीहरुलाई सहयोग गरिनु हुन नेवि संघ बाजुरा-काठमाडौं सम्पर्क समिति परिवारले अनुरोध गरेको छ ।