कोभिड १९ भ्याक्सिनः रुसले मासिक ५० लाख खोप बनाउने, अमेरिका र ब्राजिलले प्रयोग नगर्ने !
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) भ्याक्सिन तयार पारेको दाबी गरेको रुसले पहिलो खेप बनाइसकेको र हरेक महिना ५० लाख खोप बनाउने बताएको छ । डिसेम्बर-जनवरीसम्म प्रतिमहिना ५० लाख भ्याक्सिन बनाउने दाबी गरिएकाे छ ।
विश्वभरका देशहरु कोरोनाको भ्याक्सिन बनाउने होडमा रहेका बेला रुसले सबैभन्दा पहिला भ्याक्सिन बनाउने घोषणा गरेर बाजी मारिसकेको छ । यो कोरोना भाइरस विरुद्धको पहिलो भ्याक्सिन हुनेछ । यसै महिनाको अन्तिमसम्म उसले उत्पादन गरेका भ्याक्सिनहरु बजारमा आउने पनि दाबी गरिएको छ ।
भ्याक्सिनलाई तेस्रो चरणको ट्रायलविना नै स्वीकृति दिइएको छ । तेस्रो चरणको ट्रायलमा हजारौँ व्यक्तिहरुमा भ्याक्सिन परीक्षण गरिन्छ । यो ट्रायल खोप उत्पादनको लागि अनुमोदन प्राप्त गर्न धेरै महत्त्वपूर्ण मानिन्छ ।
रुसले आफ्नो भ्याक्सिनको नाम स्तुपनिक–५ राखेको छ । स्तुपनिक अन्तरिक्षमा जाने पहिलो उपग्रह थियो, जसलाई रुसले लन्च गरेको थियो । रसियन राष्ट्रपति भ्लादिमीर पुटिनले यो खोप पूर्ण रूपमा सुरक्षित रहेको र आफ्नो छोरीले समेत लगाएको दाबी पनि गरेका छन् । खोपपछि छोरीको स्वास्थ्यमा समेत सुधार आएको उनको भनाइ छ ।
अमेरिका, ब्राजिल र भारत कोरोनाबाट ज्यादा पीडित छ । अमेरिका र ब्राजिलले रुसको भ्याक्सिन प्रयोग गर्न अस्वीकार गरिसकेको छ भने भारतले आधिकारिक रुपमा अहिलेसम्म केही भनेको छैन । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले भने रुसको भ्याक्सिनमाथि आफूलाई पुरा भरोसा रहेको भन्दै यसको प्रयोग गर्ने बताएका छन् ।