‘अहिले पनि बेलाबेलामा यशाेदालाई सम्झिएर एकान्तमा बसेर रून्छु’ (भिडियोसहित)
काठमाडौं । काठमाडौंको बालाजु नजिकै रहेको जितपुरमा २००७ सालमा जन्मिएका हुन्, वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ । मदनकृष्ण ६ महिनाकाे हुँदा उनकी आमाले संसार छोडेर गइन् । आमाको त्यो न्यानो काख कस्तो हुन्छ भन्ने नै आभाष समेत गर्न पाएनन् उनले ।
आमाले छाेडेर गएपनि फुपुहरूले मायाकाे कमी भने हुन दिएनन् । तर आमाकाे मायाजस्ताे किन लाग्थ्याे र अरूकाे माया । दैवकाे लिला, मान्नैपर्याे । फुपुहरूकै मायामा चित्त बुझाए उनले । तर हुर्किँदै जाँदा साथीहरूका आमाले उनीहरुलाई गरेको माया देख्दा आमाकाे अभाव खड्किन्थ्याे अनि साेच्थे – ‘मेरो पनि आमा भइदिएको भए !’
उनी सानैदेखि गम्भीर स्वभावका थिए । उनको स्वभाव गम्भीर भए पनि अरूलाई हँसाउने खुबी भने थियो । सायद यही खुबीकै कारण हुनुपर्छ, कला जगतमा उनको सर्वश्रेष्ठ पहिचान छ । पछिल्लो समय उनको स्वास्थ्यका विषयमा विभिन्न टीकाटिप्पणी भएका थिए । कतिले उनी हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेको, मान्छे चिन्न छाडेको लगायतका कुराहरू समेत आएका थिए ।
‘मेराे स्वास्थ्य सामान्य नै छ, बाहिर हल्ला चलेकाे जस्ताे गम्भीर स्थिति छैन । मैले धेरै मेन्टेन गरेको छु’, उनले भने ।
‘लकडाउनले असर नपार्ने कुरै भएन’
लकडाउनले संसारलाई नै असर पारेको बेला म एक जनालाई असर नपार्ने कुरै भएन । मलाई मात्रै होइन, मेरो क्षेत्र (कला क्षेत्र) लाई नै असर पारेको छ । लकडाउनको सुरु सुरुमा त कति गते, के बार, कति बज्यो, भन्ने समेत थाहा हुँदैनथ्याे । म अर्कै दुनियाँमा छु कि जस्तो पनि महसुस हुन्थ्यो । बिस्तारै बिस्तारै बानी पारेँ ।
घरमै बसेर गीतहरू लेखेँ । लकडाउन लम्बिँदै गएपछि भने सामाजिक दुरी कायम गरी सुटिङहरू पनि सुरु गरियो । लकडाउन पहिला संसार एक सुरले आफ्नै तरिकाले चलिरहेको थियो, तर लकडाउनपछि अचानक गुडिरहेको गाडी रोकिए जस्तै भयो । सुरु सुरुमा त पृथ्वीले आराम गर्न पायो भन्ने पनि लाग्यो । धुवाँ धुलोरहित आकाश हेर्ने अवसर पनि पाइयो । श्वास फेर्न सजिलो भएको जस्तो महसुस भयो ।
तर यही दैनिकीले लामाे समयसम्म निरन्तर चलिरहँदा अहिले उकुसमकुस हुन थालेकाे छ । लकडाउन नभएको भए यतिबेला म कुनै सभा समारोहमा हुन्थेँ होला, तर बिना गल्ती जेलमा बसेको जस्तो भयो । लकडाउन र काेराेनाकै स्थितिका कारण कति कामहरू अड्किएका छन् । कतै जान पनि मिल्दैन । सबै काम राेकिएकाे छ । भ्याक्सिन आयो भने अली सहज हुन्छ होला !
बाल्यकाल: ‘माछा भनेर ढुङ्गा पल्टाएको सर्प रहेछ, आत्तिँदै भागेँ’
अरूले जसरी बाल्यकाल बिताउँछन्, मेराे पनि त्यसैगरी बित्याे । कहिले साथीहरुसँग खेल्न जान्थेँ, कहिले माछा मार्न त कहिले पौडि खेल्न । विस्तारै विस्तारै बढ्दै गएँ, पढ्दै गएँ अनि सबै कुराहरु बुझ्दै पनि गएँ ।
सानाेमा म अलि गम्भीर स्वभावकाे थिएँ तर पनि मेरा गफ सुनेर सबै साथीहरू हाँस्थे । सानोमा कला क्षेत्रमा खासै इच्छा पनि थिएन । तर नसाेचेकाे भइदियाे, आज एउटा हाँस्य कलाकारको रुपमा परिचित छु । मैले कल्पना समेत गरेकाे थिइनँ कि म जीवनभर अरुलाई हँसाइरहन्छु, त्यो पनि एउटा कलाकारको रुपमा ।
गम्भीरसँगै सानाेमा म अलि चन्चले स्वभावकाे पनि थिएँ । साथीहरूसँग खुब रमाइलाे गरिन्थ्याे । एकदिन साथीहरूसँग माछा मार्न खाेलामा गएकाे थिएँ । ढुङ्गाको मुनि एकदमै ठुलाे २ वटा माछा देखियाे । माछालाई जोडले तानेँ, आएन । यसाे ढुंगाे पल्टाएकाे त सर्प पनि त्यहीँ रहेछ, आत्तिँदै भागेँ ।
‘पैसाकाे मतलब कहिल्यै राखेनाैँ । हँसायाैँ, हिँड्याैँ । अहिलेसम्म पनि हामी साथमा छाैँ । हरिवंश मेरो लागि ईश्वरको वरदान हो ।’
केही समयपछि जाँदा सर्प गइसकेकाे थियाे, अनि माछा बाेकेर घर आएँ । अहिले त्याे क्षण सम्झँदा माछा किन मारेछु जस्ताे लाग्छ । मैले सत्र वर्षसम्म त माछामासु केहि पनि खाइनँ, तर अहिले अलिअलि खान थालेकाे छु ।
स्कुले जीवन
स्कुले जीवन खासै राम्राे बितेन । त्यो समयमा विद्यार्थीहरुले धेरै विद्यालयहरु परिवर्तन गर्थे, काेही शुल्क तिर्न नसकेर त काेही शिक्षककाे पिटाइ सहन नसकेर । त्याेमध्ये म पनि पर्छु । मैले एसएलसी दिने बेलासम्म धेरै विद्यालय परिवर्तन गरेँ । तर मेराे परिवर्तनकाे कारण भने त्याे थिएन । घरमा पूजा हुन्थ्याे, बस् भन्थे बस्याे । आज यस्तै, भाेलि त्यस्तै बानी नै लाग्ने रहेछ । अनि बाले अर्को स्कुलमा माथिल्लो कक्षामा हालिदिनुहुन्थ्याे, त्यहि कक्षामा पढेको मन पराउनु हुन्नथ्याे । परीक्षा नै नदिएर अर्को कक्षामा पढ्थेँ । त्यसरी पढ्दा पनि मेरो पढाइ राम्रै थियो ।
कलाकार बन्ने हुटहुटी
पहिला त म कलाकार बन्छु भन्ने नै थिएन, तर अन्जानैमा कलाकारिता गरिने रहेछ । म बोल्दा पनि मान्छेहरु हाँस्थे, रमाउँथे, नाच्दा ताली बजाउँथे । त्यसपछि मैले नाटकहरुमा भाग लिन थालेँ । नाटकहरु देखाउने क्रममा सबैले आफूलाई हेरेको देख्दा आनन्द लाग्थ्यो ।
वि.सं२०२६ सालमा नेपाली भाषामा गीतहरुको प्रतिस्पर्धा थियो, मैले पनि भाग लिएँ । त्यो प्रतिस्पर्धामा म प्रथम पनि भएँ । त्यसपछि ‘मेरो स्वर राम्रै रहेछ, अब गाउन सुरु गर्छु’ भन्ने साेच आयो । एक जना दाईले एउटा गीत दिनुभयो । ‘यो गीत तिमी गाऊ, तिमीले राम्रो क्यारिकेचर पनि गर्छाै’ भनेपछि मैले गाएँ । त्यही गीतबाट म चिनिएँ ।
वि.सं. २०२३ सालमा रेडियो नेपालमा भ्वइस पास गर्ने तीन जना थियौँ । तीन जना मध्ये म पनि परेको थिएँ । स्वर परीक्षा दिन जाँदा मनमा डर थियो । नाम ननिस्कने हो कि भन्ने लागेको थियो, तर अन्ततः नाम निस्कियो धेरै खुसी भएँ । अहिलेसम्म निरन्तरता दिइरहेको छु कलाकारितामा । त्यसपछि सञ्चय कोषमा जागिर खाएँ । सञ्चय कोषमा जागिर गर्दै विभिन्न ठाउँहरूका कार्यक्रमहरूमा पनि जान्थेँ । त्यसै बेला बीबीसीले रेडियोमा एउटा ट्रेनिङ कार्यक्रम राखेको थियो । त्यसमा भाग लिएँ । त्यहाँ एउटा टिमले कार्यक्रम बनाउने भन्ने कुरा आयो, म पनि जोडिएँ र त्यो कार्यक्रम धेरै नै हिट भयो ।
त्यो कार्यक्रम सुन्न मान्छेहरू रेडियो वरिपरि झुमिन्थे । एक पटक म मिरिक भन्ने ठाउँमा आयोजित कार्यक्रममा गएको थिएँ । त्यहाँ जाँदा मलाई मान्छेहरूले ‘तपाईँ मदनकृष्ण होइन’ भनेर सोधे । मैले ‘हो कसरी चिन्नुभयो’ सोधेँ । उनीहरूले ‘रेडियोको स्वर र हजुरको स्वर उस्तै लाग्यो, त्यसरी चिनेको’ भन्दा निकै खुसी लाग्यो ।
हरिवंशसँगकाे भेट
हरिवंश र मेरो पहिला त देखादेख भएको हो । वि.सं २०३२ सालदेखि मैले गाईजात्रा कार्यक्रममा भाग लिन थालेको थिएँ । हरिवंशले २०३३ सालदेखि भाग लिन थालेकाे थियाे । त्यही गाईजात्राकै कार्यक्रममा ऊसँग भेटघाट हुन थाल्यो ।
एक पटक राष्ट्र बैङ्कको एउटा कार्यक्रम लामो हुने भएपछि दुवै जनाले सँगै गर्ने भन्ने कुरा भयो । दुवै जनाले गरेको राम्रो पनि भयो । जब नाम र दाम कमाउन थालियो त्यसपछि जागिरै छोडेर हरिवंश र म कलाकारिता तिरै लाग्यौँ ।
अभिनय भनेको नक्कली काम पनि हो । त्यही नक्कली कामलाई सक्कली जस्तो बनायो भने दर्शकले त्यही मन पराउँछन् ।
हामीले पैसाको कहिल्यै कलाकारिता गरेनौँ । कहिलेकाहीँ त लिइसकेको पैसा पनि फिर्ता दिन्थ्यौँ । हामीले गर्दा दर्शकहरू हाँस्नुभयो जस्तो लाग्थ्यो, त्यसैले पनि पैसाकाे मतलब राखेनौँ । हँसायौँ, हिँड्यौँ ।
अहिलेसम्म पनि हामी साथमा छौँ । हरिवंश मेरो लागि ईश्वरको वरदान हो । यदि हरिवंशसँग भेट नभएको भए सायद म आज यो स्थानमा सायद हुँदैन थिएँ होला । आज हरिवंशसँग भेट भएको पनि ४० वर्ष कट्यो । हामी दाजुभाइ जस्तै छौँ ।
आफू पीडाले रोएका बेला दर्शकहरूलाई हँसाएको त्यो क्षण
मेरी श्रीमतीको दिल्लीमा फोक्सोको शल्यक्रिया गर्ने समय भएको थियो । त्यति नै बेला मेरो कोरियामा कार्यक्रम थियो । जसरी भए पनि म जानैपर्ने, कार्यक्रम सार्न पनि नमिल्ने । किनकी २ महिना अगाडिबाटै टिकट बुकिङ भइसकेको थियो । त्यसपछि मैले नेपालमै उनको शल्यक्रिया गर्ने बन्दोबस्त मिलाएँ ।
श्रीमतीको शरीरभरि तार र पाइपहरू थिए । म घरबाट अस्पताल गएँ, त्यतैबाट एयरपोर्ट पुगेँ । जब कोरियामा कार्यक्रम सुरु भयाे, दर्शकहरू हाँसिरहेका थिए । डाइलग बोल्ने पालो मेरो रहेछ । मैले हरिवंशको डाइलग कुरिरहेको थिएँ । हरिवंश बोल्ला र म बाेलुला भन्ने सोचेको थिएँ । किनकि मेरो तन उता भएपनि मन अस्पतालमा थियाे ।
त्यस्तै एक पटक मेरो बा बिरामी भएको बेला सिटी हस्पिटलमा बालाई भर्ना गरेका थियौँ । त्यतीबेला मेरो कार्यक्रम पनि थियो । मैले सोचेँ कार्यक्रम भन्दा त बा नै ठुलो हो, अक्सिजन किन्न गएँ । मेरो फुपूको छोरा दाइ आउनु भएको रहेछ । दाइलाई यो अक्सिजन लगेर तपाईँ जानु, म एक छिन कार्यक्रममा पुगेर आउँछु भनेर निस्किएँ । कार्यक्रममा के बोलेँ होसै थिएन । सबै ध्यान बा तिरै मात्र थियो । कार्यक्रमबाट फर्कँदा बाको मुखमा अक्सिजन लगाइएकाे थियो ।
बैवाहिक जीवन
यशाेदा ब्राह्मण (सुवेदी), म नेवार (श्रेष्ठ) । म २४ वर्षको हुँदा हाम्रो अन्तरजातीय बिवाह भयो । मेरो बा प्रधान पन्च हुनुहुन्थ्यो, अरूको झगडाहरू मिलाउने । बा कडा भएका कारण मैले बिहे गरेर यशोदालाई साथीकोमा राखेँ । अरूको झगडा मिलाउँदै हिँड्ने मान्छे आफ्नै घरको कुरा मिलाउनै पर्यो । एक दिन बाले हामीलाई घरमा बोलाउनु भयो । तर म एक्लै गएँ ।
घरमा गएर कुरा गरेपछि श्रीमतीलाई लिएर गएँ । अहिले पनि छुवाछुतको संकीर्णताबाट उठ्न सकेको छैन नेपाली समाज । त्यो बेला त झन् धेरै गाह्रो थियो । त्यति बेला मेरो श्रीमती १ रात मात्र बसेकी छिन् माइत । त्यसपछि उनी कहिल्यै बसिनन् । मैले दुःखमा पनि सुखमा पनि उनैको साथ पाएँ । तर क्यान्सरका कारण उनीसँग छिट्टै छुटिनुपर्याे ।
उनीलाई बचाउन मैले धेरै कोसिस गरेको थिएँ । मैले ६ वर्षसम्म त एकोहोरिएर उपचार गरेँ उनकाे । जब जब तीज आउँछ महिलाहरू श्रीमानको आयु लामो होस् भनेर व्रत बस्छन् । म पनि ६ वर्षसम्म मेरो श्रीमतीलाई निको होस् भनेर व्रत बसेँ ।
निकाे नै भएन । रोग अलि छिटो पत्ता लागेको भए निको हुन्थ्यो, तर ढिलो पत्ता लाग्यो ।
६ महिनाको हुँदा आमा बित्नुभयो । आमाको माया कस्तो हुन्छ भन्ने नै थाहा भएन । तर श्रीमतीले सबै भुलाउने माया दिइन् । सधैँ राम्रो मात्र गरिन्, कहिल्यै पनि नराम्रो भन्ने के हो ? मैले महशुषसम्म गर्न पाइनँ । अझै पनि म श्रीमतीलाई सम्झेर बेलाबेलामा एकान्तमा बसेर रुन्छु । उनको अन्तिम दाहसंस्कार गरेको भिडियोहरु युट्युबमा छ, त्यो हेरेर एक्लै एक्लै रुन्छु । उनले गरेको माया, साथ, सपोर्ट सम्झँदा अहिले पनि गाह्रो हुन्छ मलाई ।
श्रीमती बितेपछि मैले उनको सम्झनामा एउटा गीत लेखेको छु । ‘रातैभरि तिमीसँग मैले कुरा गरेको थिएँ, सँगसँगै हिडाैँ भन्थेऊ किनकी म अलि परै थिएँ ।’ त्यो गीतले म अहिले पनि धेरै भावुक हुन्छु । मैले संसार बुुझेको छु, त्यसैले पनि आफूलाई सम्हालिरहेको छु । तर पनि बेलाबेलामा सम्झँदा मन हलचल हुन्छ !