बेसिन्दा पहिरो पीडितलाई राजनीतिक बिलो !

बेसिन्दा पहिरो पीडितका समस्या, सरकारी निकायका हालसम्मका प्रयासका विषयमा रिपोर्टिङ गर्न गत साउन २५ गते तिर सदरमुकाम खाँदबारीबाट पत्रकारको टोली (ध्यान कुलुङ -गोरखापत्र, खेवाहाङ मेवाहाङ -सगरमाथा टेलिभिजन, स्थानीय संयोगान्त कुलुङ र म) त्यसतर्फ लाग्यौँ ।

हिउँदमा शिलिचोङका अधिकांश वडासम्म सवारी यात्रामा पुगिने भए पनि असारे विकासका योजनामा मर्मत र निर्माण गरिएका सडकहरू अहिले संखुवा खोलाले अरुण नदीमा मिसाउँदा सायद बङ्गाल तिरै पुगिसके होलान् । त्यसैले खाँदबारीबाटै मोटरसाइकलमा जबरजस्त हेलुवाबेसीसम्म पुग्यौँ । ताकी मोटरसाइकलमा गुड्नु भन्दा बढी हिँड्नु पर्ने बाध्यता थियो । हामीलाई बोक्ने मोटरसाइकललाई हामीले अझै बढी बोक्यौँ ।

हेलुवाबेसीबाट पैदल यात्रामा बुधबारे पुग्नु थियो । हिडाईको थकानले गर्दा बुम्लिङटार (भोजपुर)को तेर्सो सडकमा साँझ परिसकेको थियो । मोबाइलको टर्च बालेर संखुवा खोलाको गणतिरबाट हिउँदको सडकमा सकस यात्रा ग-यौं । किनकी अहिले सडक जस्तो छैन । सडक पनि संखुवाको बगर बनेको छ । अविरल वर्षाले माटो बगाएपछि निस्किएको चट्टानमा हात र खुट्टाका नङ्ग्रा गाडेर गन्तव्यको दूरी कम गर्न हामीले ठूलै सङ्घर्ष गर्नुप-यो । चमेरो झैँ झुन्डिएर पार गर्नुपर्दा केही गरी हात वा खुट्टा मध्ये एक खस्किए त्यहीँ सडक जसरी नै संखुवाले पुन अरुण नदी भएर बङ्गालको खाडी पु-याउने छ । हिउँदमा तीन घण्टामा पुगिने बुधबारे यो सङ्कटपूर्ण यात्रामा करिब ७ घण्टा बितेछ ।

पहिरोपछिका प्रयास
गत असार २७ गते राती अविरल वर्षापछि आएको पहिरोले शिलिचोङ गाउँपालिका वडा नं. १ बेसिन्दा गाउँका ९ घर बगाउँदा ११ जना वेपत्ता भए । पहिरोमा बेपत्ताको खोजी गर्ने क्रममा एक जना स्थानीयको हृदयघातका कारण मृत्यु भयो । पहिरोले बेसिन्दा गाउँका ८६ घर सोही पहिरोबाट चेप्चेवाका २० घरलाई विस्थापित ग-यो । बेसिन्दाका ८६ मध्येका २९ परिवारलाई वडा नं. २ को सिसुवाटार बुधबारेमा अस्थायी बसोबासका लागि पुनर्स्थापना गरिएको छ । चेप्चेवाका २० परिवारलाई वडा नं. २ कै पौखमटारमा पुनर्स्थापना गरिएको छ भने वडा नं. १ को चित्रेमा ५३ परिवारलाई व्यवस्था गरिएको छ । व्यवस्था गरियो त भनियो तर कत्तिका व्यवस्थित छन् यसमा कसैले महत्त्व राखेका छैनन् ।घटनापछि प्रदेश सरकारको पहलमा खाद्यान्न सामग्रीसहित ५३ थान टेन्ट र त्रिपाल विस्थापित परिवारलाई पुर्नस्थापनाका लागि पु¥याइयो । १ सय ६ घर विस्थापितहरुमा ५३ परिवार बाहककालाई टेन्ट व्यवस्था गर्छु भनेर फर्किएको प्रदेश सरकार एक महीना बित्दा समेत पुन शिलिचोङ तर्फ फर्किन सकेको छैन । बुधबारेमा राखिएका २९ परिवारलाई थोर बहुत सहजै रहेको पाइन्छ । पौखमटारमा राखिएको भनिएको २० घर परिवार टेन्ट अभावका कारण बस्न सकेका छैनन् । उनीहरू आफन्तकोमा ११ जनादेखि २१ जनासम्म कोचिएर बस्नुपर्ने कहिलेसम्म हो थाहा छैन । यता चित्रेमा राखिएका ५३ परिवार मध्ये २४ परिवार टेन्टमा बस्दै आएका छन् । अन्य परिवार आफन्तकै आश्रयमा छन् । खानेपानी अभाव झेलिरहेका यहाँका पीडितहरू चिसोका बिरामीका सिकार बनेका छन् ।

शिलिचोङमा दुई ठूला दलकै नेतृत्व ठूलै छ । बेसिन्दा पहिरोअघि चुपचाप बसेका राजनीतिक दलहरू पहिरोपछि एकाएक होडबाजीमा उत्रिएका छन् ।

शिलिचोङ गाउँपालिकाले पीडितलाई राहत र पुनर्स्थापनाका लागि उच्च स्तरीय समिति गठन गरेर काम गरिरहेको छ । उक्त समितिले हालसम्म विस्थापित परिवारलाई आम्दानी श्रोत र क्षतिको आधारमा विस्थापितका श्रेणी विभाजन गरिसकिएको जनाएको छ ।

राहत सहयोगमा लबिङ
शिलिचोङमा दुई ठूला दलकै नेतृत्व ठूलै छ । बेसिन्दा पहिरोअघि चुपचाप बसेका राजनीतिक दलहरू पहिरोपछि एकाएक होडबाजीमा उत्रिएका छन् । राहत सङ्कलनमा सहयोगी मन भन्दा पनि पार्टीपंत्तीका हिसाबले विभिन्न समिति बनाएर उधुमसँगले लागि रहेका छन् । दुवै पार्टीलाई एक अर्काप्रति डर छ, त्रास छ । अर्को पार्टीले बढी रकम सङ्कलन गर्ने होकी भन्ने व्यग्र चिन्ता छ ।

दल बाहेकका देश विदेशका विभिन्न सङ्घसंस्था र व्यक्तिहरू सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरिरहेका छन् । मोटो रकमहरू पनि हात परेका छन् । तर सहयोग सङ्कलन गर्ने संस्थामा कुन व्यक्तिको नेतृत्व छ ? ती व्यक्ति कुन पार्टीका हुन् ? आफ्ना पार्टी भए जाती, अर्को पार्टी भए अब्जस् लगाउने र पार्टी निकटका होइनन् भने लाग्ने व्यक्तिको खोजी गरी आफ्नो पार्टीमा समाहित गर्ने प्रवृत्तिले नेतृत्वदेखि कार्यकर्तासम्मलाई आराम छैन । यो अभ्यास एक महीना बितिसकेको छ ।

यता जिल्लाका विभिन्न सङ्घसंस्था तथा सहयोगी दाताहरूले दिएका राहत सामग्री पार्टी कै नेतृत्वमा ल्याइएको, हाम्रो पार्टीको फलनाको पहलमा ल्याइएको भनेर सामाजिक सञ्जालका भित्ताहरूमा बाक्लै गरी पोस्ट्याइएका छन् । सहयोगी सङ्घसंस्थाहरू, दाताहरू सडकको दुर्दशाका कारण पीडितका सामु पुग्न सकेका छैनन् भने सरकारको एकद्धार प्रणाली अन्तर्गत सदरमुकाममा सरकार मातहतका निकायलाई राहत सामग्री र रकम हस्तान्तरण गर्न बाध्य छन् । जसले गर्दा पीडितका साहरा बनेका दलका नेतृत्वहरू सदरमुकाम आएर राहत सामाग्री लैजाने र पीडितसम्म पुग्दा निस्वार्थ सहयोगी दाताहरूको राहतमा बाह्र वर्षपछि फुलेको उन्युँमा राजनीतिको गु गन्ध छरिरहेका छन् ।


पीडितलाई राजनीतिक बिलो !

सिकारीले सिकारमा संलग्नलाई बिलो बाँडे जसरी नै बेसिन्दा पहिरो पीडितलाई पनि राजनीतिक बिलो बाँडिएको छ भन्दा फरक नपर्ला । पहिरोले यो वा त्यो दलको नभने पनि पहिरोपछि विस्थापितहरूको भागबन्डा रानीतिक रूपमा गरिरहेका छन् । चित्रेमा भएकाहरूलाई बुधवार देखाउँदै तिनीहरू फलाना दलका हुन् । त्यसैले उनीहरूलाई बुधबारेमा लगेर राखे । टेन्टमा राखे । चेप्चेवाकालाई पनि बुधवार देखाउँदै त्यसै भन्ने । बुधबारेकालाई टेन्ट दिने अनि तिमीहरूलाई त्रिपाल दिएर विभेद गरे । त्रिपालमा कोही नबस भनेर उराल्नाले राहतका नाममा आएका सामग्री समेत प्रयोग गर्न सकिरहेका छैनन् पीडितहरू । यो गतिविधि गर्न कुनै पनि पार्टी कमजोर छैन ।

वडामा वडाध्यक्षको नेतृत्व र गाउँपालिकामा गाउँपालिका अध्यक्षको नेतृत्वलाई पार्टीसँग तुलना गरेर पक्ष र विपक्ष बनाइनुले हिजो समर्थन गरेकाहरूलाई समेत अहिले खपिनसक्नुको विरोध गर्ने बनाइसकेका छन् राजनीतिका सिकारीहरूले । त्यसैले नेतृत्वलाई पार्टी देखाएकैले होला आज सोझा पीडित पनि नेतृत्वका राम्रै काम भए पनि पार्टीको चस्मा लगाएर हेरिँदा विरोधको पक्षमा छन् । यसरी नेतृत्व र पीडितहरूलाई पार्टीको पगरी लगाइदिनुले पाउनुपर्ने सेवा सुविधाको समेत उनीहरू विरोध गरिरहेका छन् ।

नेतृत्व फेरियो आवाज फेरिएन
प्राकृतिक विपत्तिका हिसाबले शिलिचोङ गाउँपालिकामा बेसिन्दा पहिरो स्थानीय र नेतृत्वलाई नयाँ कुरा होइन । वि.सं. १९९२ र २०२२ सालको सिङ्गो गाउँ नै पहिरोमा बगेको मांतेवा पहिरो, २०६६ साल साउन २ गते १४ जना बेपत्ता भएका सिकिदिम पहिरो लगायत वर्षेनी दुई–चार परिवार विस्थापित हुनु पर्ने घटनाका साक्षी यी नै दलका नेता कार्यकर्ता, बौद्धिक व्यक्ति व्यक्तित्व, समाजसेवी र स्थानीयहरू हुन् ।

प्रत्येक वर्ष विस्थापित परिवारलाई विभिन्न सङ्घसंस्था र दाताहरूको सहयोगमा पुर्नस्थापना गरिन्छन् । तर स्थायी बसोबासको विकल्प कहिले गर्दैनन् । किनकी विस्थापितहरूलाई दिगो लक्ष्यकासाथ स्थायी बसोबास गरियो भने भोलि राजनीतिक विषयवस्तु के बनाउने ? भोट माग्ने एजेण्डा हराउँछ कि भन्ने निरीह सोचाईका कारण अहिलेको मात्र हैन दशकौँ अघिका विस्थापितले पनि स्थापित हुन पाइरहेका छैनन् । सोझै भन्ने हो भने पीडितको पिडामा राजनीति गर्नेहरूले ती सोझा गाउँलेलाई स्थापित हुन दिइरहेका छैनन् ।

पीडितका समस्या समाधान गर्ने भनेर मुखले ओकल्ने तर मनमा अङ्गार पोतिएका ब्वाँसा जस्ता नेतृत्वहरू पटक पटक कार्यकाल सकाउँदै फेरबदल भइरहेका छन् । नेतृत्व वर्गको जस्तै पीडितहरूको आवाज पनि फेरिने वाला छैन समस्याको तर उनीहरूको जीवनशैली पनि फेरिने वाला छैन नेतृत्वको जस्तै ।

समग्रमा बासिन्दा पहिरो र पीडितलाई नियाल्दा पहिरो हिजो पनि गयो, आज पनि जाँदै छ र भोलि पनि जाने वाला छ । व्यवस्थाहरू जस्तै नेतृत्व पनि फेरिइरहेका छन् । तर दलगत स्वार्थका कारण नत हिजोका पीडितको समस्या समाधान भयो, नत भोलिका पीडितका नै हुनेछन् ।

समग्रमा बासिन्दा पहिरो र पीडितलाई नियाल्दा पहिरो हिजो पनि गयो, आज पनि जाँदै छ र भोलि पनि जाने वाला छ । व्यवस्थाहरू जस्तै नेतृत्व पनि फेरिइरहेका छन् । तर दलगत स्वार्थका कारण नत हिजोका पीडितको समस्या समाधान भयो, नत भोलिका पीडितका नै हुनेछन् । स्वार्थ पूरा हुने छत केवल पीडितको विषयलाई लिएर स्वार्थको राजनीति गर्नेहरूको । त्यसैले शिलिचोङलाई नजिकबाट नियाल्ने सबै तह र तप्का नेतृत्वहरू, नियामक निकायका नेतृत्वहरू, परिवर्तन, विकास र समस्या समाधानका उपाय खोज्ने आम मान्छे र सञ्चारकर्मीहरू शिलिचोङको यो प्रवृत्तिप्रति चासो राख्न, विस्थापितहरूको स्थायी पुर्नवास र बेपत्ताहरूको परिवारप्रति सहानुभूति राख्न पार्टी, जाती र स्वार्थ भन्दा माथि उक्लन सक्नु पर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *