कोरोनाले थलिएका क्षेत्रले पुनर्कर्जा पाउने, व्याज ३ देखि ५ प्रतिशत मात्रै
काठमाडौं । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै पुनर्कर्जाका लागि आवेदन दिन बैंक तथा वित्तिय संस्थाहरुलाई आव्हान गरेको छ । भदौ १ गतेदेखि असोज १४ गतेसम्म आवेदन दिन पाइनेछ । सो कर्जामा बैंक तथा वित्तीय संस्थाहरु सहभागी हुन सक्नेछन् ।
पुनर्कर्जाको लागि बैंक तथा वित्तीय संस्थाहरुले मागेको कुल रकमको कम्तिमा पनि ७० प्रतिशत रकम लुघ, घरेलु तथा साना उद्यम पुनरकर्जा अन्तरगत हुने गरी माग गर्नुपर्ने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
पुनर्कर्जा माग गर्नको लागि कर्जा छनोट गर्दा बैंक वित्तीय संस्थाको प्रत्येक शाखाबाट कम्तिमा पनि ५ वटा ग्राहक ऋणी समेटिएको हुनुपर्नेछ । राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई पुनकर्जाका लागि आवेदन दिन सार्वजनिक सूचना जारी गरेको छ । पुनर्कर्जाको ब्याज दर कम्तिमा ३ र बढीमा ५ प्रतिशत हुनेछ ।
यसरी प्रदान गरिएको पुनर्कर्जा कोभिड १९ बाट अति प्रभावित तथा मध्यम प्रभावित क्षेत्रहरुमा प्रवाहित कर्जाहरुलाई उपलब्ध हुनेछ । बैंक तथा वित्तीय संस्थाले प्रदान गरेको असल कर्जाको धितोमा राष्ट्र बैंकले पुनकर्जाका लागि रकम उपलब्ध गराउनेछ ।
जस अनुसार प्रति ग्राहक १५ लाखसम्मको लघु, घरेलु तथा साना उद्यमको पुनर्कर्जा, ५ करोड रुपैयाँसम्मका विशेष र साधारण पुनर्कर्जा बैंक तथा वित्तीय संस्थाहरुलाई उपलब्ध हुनेछन् ।
यस्ता छन् सर्तहरु
क) संस्थाले माग गर्ने कूल पुनरकर्जा रकम संस्थाको प्राथमिक पुँजीको अधिकतम २५ प्रतिशतसम्म हुनुपर्ने ।
(ख) आवेदनको लागि छनौट गरिएका कर्जाको भुक्तानी अवधि न्यूनतम १ वर्ष बाँकी रहेको हुनुपर्ने ।
(ग) एक भन्दा बढी बैंक तथा वित्तीय संस्था मार्फत कर्जा उपयोग गरेका ऋणीको हकमा
एक बैंकरवित्तीय संस्था मार्फत मात्र आवेदन भएको व्यहोरा आवेदकले सुनिश्चित गरेको हुनुपर्ने ।
(घ) पुनरकर्जाको लागि आवेदन गरिएको कुल रकम मध्ये कम्तिमा ७० प्रतिशत रकम लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा अन्तर्गत हुने गरी माग गर्नु पर्ने ।
(ङ) आवेदनको लागि कर्जा छनौट गर्दा प्रत्येक शाखाबाट न्यूनतम ५ वटा ग्राहकरऋणी समेटिएको हुनुपर्ने ।
(च) आवेदन पेश गर्ने संस्थाको पुँजीकोष अनुपात यस बैंकले तोके बमोजिम पुगेको हुनु पर्ने ।
( इच्छुक ग्राहक ऋणीलाई आफुले सेवा लिइरहेको शाखामा पुनरकर्जा माग गरी निवेदन दिनुहुन समेत यसै सुचना मार्फत सुचित गरिन्छ ।