निषेधाज्ञामा पनि वित्तीय क्षेत्रले सेवा दिने, शाखा भने थोरै खुल्ने

काठमाडौं । उपत्यका आज रातिदेखि १ साताका लागि निषेधाज्ञा हुँदैछ । निषेधाज्ञामा वित्तीय क्षेत्रले थोरै शाखा खोलेर सेवा दिने भएका छन् । भोलिबाट एक हप्तासम्म उपत्यकामा वाणिज्य बैंकहरुका ८ र विकास बैंकका ४ वटा शाखा खोल्ने भएका छन् ।

एउटा वाणिज्य बैंकले काठमाडौंमा ५ वटा, ललितपुरमा २ वटा र भक्तपुरमा एक वटा शाखा खोल्न बैंकर्स संघले सहमति गरेको छ ।

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले आवश्यकता अनुसार एकाध शाखा पनि बढ्न वा घट्न पनि सक्ने बताए । एउटा वाणिज्य बैंकले उपत्यकामा ८ वटा शाखा खोल्ने सहमति भएको बताए ।

बैंकहरुले आफ्ना सीमित शाखा खोल्ने र कर्मचारीलाई पनि आलोपालो खटाउने रणनीति बनाएको छ । परिचयपत्र देखाएर कर्मचारीहरु कार्यालय आवत जावत गर्न पाउने व्यवस्था भएकोले सहज हुने दाहालले बताए ।

राष्ट्र बैंकले निषेधाज्ञा अवधिमा बैंकिङ सेवा प्रवाहका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई पाँच बुँदे निर्देशन जारी गरेको छ । विद्युतीय माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्ने, नगद झिक्ने लगायतका सेवा प्रदान गर्न सीमित शाखाहरु खोल्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

बैंकले खुल्ने तथा बन्द रहने शाखाहरुको विवरण वेबसाइटमा राख्नुपर्नेे छ ।

बीमा समितिले पनि निषेधाज्ञा अवधिमा बीमा सेवा कसरी प्रवाह गर्ने भन्नेबारे छलफल शुरु गरेको बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईंले बताए । समितिले साँझसम्ममा बीमा सेवा प्रवाह सम्बन्धी कार्यसूची सार्वजनिक गर्ने चापागाईंले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *