नेपाल बैंकर्स संघको अपिल, सकेसम्म घरबाटै कारोबार गरौं
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाबाट बाच्न सकेसम्म घरवाटै कारोबार गर्न नेपाल बैंकर्स संघको अपिल गरेको छ । कोरोनाबाट बच्न तथा जोखिमहरु न्यूनिकरणका लागि बैंकिङ्ग कारोबार गर्दा डिजिटल बैंकिङ्ग (मोबाइल इन्टरनेट बैंकिङ्ग) को माध्यमवाट प्रायः जसो सबै प्रकारका दैनिक कारोवार गर्न सकिने हुनाले डिजिटल बैंकिङ्ग सेवाको अझ बढी प्रयोग गनर् अनुरोध गरेको छ ।
एउटा खाताबाट अर्को कुनै खातामा रकम जम्मा गर्न, विभिन्न बिलहरु भुक्तानी गर्न, आफ्नो खाताको कारोबार विवरण हेर्न, खातामा रहेको रकम हेर्न लगायतका कामहरु सहज रुपमा डिजिटल बैंकिङ्गबाट गर्न सकिने हुनाले घरमै बसी सहज रुपमा बैंकिङ्ग सेवा लिन अपिल गरेको छ ।
डिजिटल बैंकिङ्ग प्रयोग गर्न कुनै पनि प्राविधिक समस्या भएमा, पासबर्ड विर्सिएमा वा कारोबारको सिलसिलामा कुनै अफ्ठ्यारो परेको खण्डमा सम्बन्धित बैंकको शखामा फोन मार्फत सम्पर्क गरि सहयोग लिन सकिनेछ । अत्यावश्यक अवस्थामा बाहेक बैंकको शाखामा नआई भिडभाड कम गर्नका निमित्त सहयोग गर्न संघले ग्राहकहरुमा अनुरोध गरेको छ ।