विराट मेडिकल कलेजमा ६० शय्याको होल्डिङ्ग सेन्टर शुभारम्भ
काठमाडौँ । विराट मेडिकल कलेजमा ६० शय्याको होल्डिङको शुभारम्भ गरिएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले साधारण अवस्थाका कोरोना सङ्क्रमितहरूको उपचारमा सहजीकरणको लागि उक्त होल्डिङ्ग सेन्टरको शुभारम्भ गरेका हुन् ।
यस सेन्टरको क्षमता ६० शय्याको रहेकोमा २० शय्या यस अस्पताल लगायत अन्य अस्पतालका कर्मचारीहरूका लागि र बाँकी ४० शय्या सर्वसाधारण बिरामीहरूका लागि छुट्ट्याइएको छ ।
हाल समुदाय स्तरमा देखा पर्न थालिसकेको कोभिड १९ को सङ्क्रमण बाट यस अस्पतालका सञ्चालक समेत सङ्क्रमित भएका थिए । आफ्नै दुई वटा अस्पताल सञ्चालनमा रहे पनि अन्य उपचाररत बिरामीहरूलाई सङ्क्रमण नहोस् भनी उनीहरूको उपचारका लागि वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र त्रि.वि. शिक्षण अस्पताल माहाराजगंजसम्म पुग्दा अनेकौँ दुःख, कष्ट र चुनौतीहरूको सामना गर्नु पर्यो । उनीहरू हाल सामान्य अवस्थामा छन् । उनीहरूले व्यहोर्नु परेको उक्त समस्या कुनै पनि चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरू लगायत सर्वसाधारणहरुले व्योहोर्नु नपरोस् र थप आर्थिक भार तथा झन्झट व्योहोर्नु नपरोस् भन्ने उद्देश्यले यस प्रकारको पहिलो होल्डिङ्ग सेन्टरको स्थापना गरिएको हो ।
यस सेन्टरको सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार संरचना र उपचार सामाग्री बाहेक आवश्यक जनशक्ति तथा व्यवस्थापन खर्च दैनिक झन्डै एक लाखको हाराहारीमा पर्न आउने भएको छ ।
सेन्टरको सञ्चालनको दैनिक खर्च सम्बन्धित निकाय र दाताहरूबाट प्राप्त नहुन्जेलसम्म अस्पतालका सङ्क्रमित कर्मचारीहरूको उपचार निःशुल्क रहने र अन्य सङ्क्रमित बिरामीहरूको उपचार भने स–शुल्क गरिने जनाइएको छ ।