कोरोना कहर: भोकाएका पेट भर्न सडकमा उत्रिए युवा, सरकार मौन !

विराटनगर । मोटरसाइकलमा थिए । आज बिहान बुधहाट चोकमा रोकेर एकजना पुरुषले भने ‘हामी त भोकै छौ, उनी सडकमा बस्ने व्यक्ति हुन ।’ बजार पसल बन्द छन् । मन चसक्क भयो ।

‘हिजो देखिएका सहयोगी हातहरु फेरि उठ्नुपर्ने भयो लौन ।’ यो अनलाइन खबरकर्मी पत्रकार हरी अधिकारीले सनिबार बिहान युवा नेता वोसिम आलम, पेरिस सुवेदी लगायतका सामाजिक अभियन्तालाई फेसबुक वालमा मेसन गरेर लेखिएको स्टाटस थियो ।यो स्टाटसले मलाई कवि भुपि शेरचनको कविताको हरफ याद दिलायो ।

साँघुरो गल्लीमा मेरो चोक छ
यहाँ के छैन ? सबथोक छ
यो मेरो चोकमा
देवताले बनाएका मानिस र मानिसले बनाएका देवता
यी दुवैथरीको निवास छ
तर यहाँ यी दुवैथरी उदास छन्
दुवैथरी निरास छन्
मानिस उदास छन्, किनकी तिनलाई यहाँ
रात रातभरी उपियाँले टोक्छ
दिन दिनभरी रुपियाँले टोक्छ ।

कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि चार महिना लामो लकडाउन भयो । साउन ७ गते रातीबाट लकडाउन खुलेसँगै दैनिकी थोरै सहज बन्दै गएको थियो । पछिल्लो केहि दिनदेखि कोरोना भाइरस संक्रमण समुदायस्तरमै फैलिएसँगै विराटनगर महानगरपालिका दोश्रो चरण लकडाउन भयो, अहिले शुक्रबार मध्यरातदेखि भदौ १० गतेसम्मका लागि निषेधाज्ञा छ । बजार बन्द छ ।अत्यावश्यक काम बाहेक मानिसको चहलपहल कम छ । भागदौड, कहिल्यै नथाक्ने विराटनगरका प्रमुख चोक, बजार यो समय थकान मेटाउन मौन भएर बसे झैँ आभास हुन्छ । सँधै बिहान काम गरेर साँझ बिहानको भोक मेटाउन पैसा जोहो गर्ने प्रेम दाई तीन दिनदेखि भोकै सुतेको सुनाउँछन् । ‘विराटनगरको सडक, पेटीमा मिठो निन्द्रा निदाएको वर्षौ भयो, तर कोरोनाले बजार बन्द हुँदा खाली पेट रित्तो गोजीले मिठो निद्रा हराएको तीन-चार दिन भयो उनले भने ।’उनी र उनका साथीहरुले निःशुल्क खाना खुवाउने वोसिम आलमको टिमलाई भोकाएर छटपिटएको समय धेरै सम्झिएको अनुभव सुनाउँछन् । तीन दिनपछि साँझ वोसिम दाईको टिमले खाना लिएर आउनुभयो भगवान नै प्रकट भए झै लाग्यो मुस्कुराउदै सुनाउँछन् । उनी थप्छन्, कहिलेकाँहि पुलिसले लखेट्दा, मन दुख्थ्यो जाँउ त कहाँ जाउ झैँ लाग्थ्यो तर राती वोसिम दाईसँगै प्रहरीले खाना दिँदा प्रहरीको मन ठूलो हुनेरहेछ जस्तै लाग्यो । 

रोग, भोकसँगै विविध समस्यासँगको लडाईमा लड्दै सडकको बास बस्ने प्रेम दाई प्रतिनिधि पात्र मात्रै हुन् । उनी जस्तै भोक र रोगसँगको लडाई लड्दै दैनिक ज्याला मजदुरी गर्दै सडक पेटीमा जीवन व्यथित गर्नेहरु सयभन्दा बढी छन् ।हाल कोरोना माहामारीले विराटनगरको स्थिति तनावग्रस्त छ । यस्तो अवस्थामा पनि वोसिम आलमको निःशुल्क खाना खुवाउने २२ जनाको युवा समूहले शनिबार साँझदेखि खाना खुवाउन सुरु गरेका छन् । ‘जति सक्छौ हामी, टिम मिलेर गर्छौ, रोग भन्दा ठूलो मानवता हो,’ युवा नेता वोसिम आलम भन्छन् । 

उनी पत्रकार हरी अधिकारीको एउटा स्टाटस र सबैले सामाजिक सञ्जालमा फेरि टिम जुट्नु पर्यो भन्ने कुरा आएपछि शनिबार निदभरी दैनिक ज्याला मजदुरी गरेर सडक पेटीमा बस्नेलाई सोधेर बुझेर साँझ बिहान खाना खुवाउने निर्णय गरेका उनी बताउँछन् ।

उनले भने, ‘पहिले पनि हाम्रो निःशुल्क खाना खुवाउने अभियानको टिमले लकडाउन अवधिभरी ८० दिनसम्म साँझ बिहान निःशुल्क खाना खुवाएका नै हौ, हाम्रो लागि नैतिक धर्म भन्दा ठुलो धर्म केहि होईन,’ उनीहरुले शनिबार साँझदेखि खाना खुवाउन सुरु गरेका हुन् ।उनीहरु गत दिनमा झैँ रोयल विरयानी हाउसमा खाना पकाउँछन् । खानाका लागि चाहिने सामानहरु आफै जुटाउँछन् । ‘पसल बन्द गरेर राख्नुभन्दा यो समय समस्यामा परेकालाई साथ दिनु उचित ठाने,’ विरयानी हाउसका सञ्चालक पप्पु अन्सारीले भने ।

जिल्ला प्रहरी कार्यालय मोरङ, जिल्ला प्रशासन कार्यालय मोरङ साथै वडा प्रहरी कार्यालय –क) ले निशुल्क खाना खुवाउने अभियानलाई विगतका दिनदेखि नै साथ हौसला दिदै आईरहेको युवा नेता आलमले बताए । सरकारहरुको पनि चासोको विषय हो यो तर सरकारहरु मौन रहेको आलमको गुनासो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *