महामारीकाबीच पर्यटन मन्त्रालयको ६० प्रतिशत प्रगति

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड–१९ महामारीकाबीच पनि अघिल्लो आर्थिक वर्षमा सकारात्मक प्रगति हासिल गरेको छ ।

मन्त्रालयले आर्थिक वर्ष २०७६/०७७ मा समग्रतामा ६० प्रतिशत प्रगति हासिल गरेको मन्त्रालयले आज सार्वजनिक गरेको वार्षिक प्रगति पुस्तिकामा उल्लेख छ । मन्त्रालयले आब २०७६/०७७ संस्कृति, पर्यटन र नागरिक उड्डयनका क्षेत्रमा केही महत्त्वपूर्ण कार्य गरेको छ । नीतिगत सुधार र सुशासन प्रवर्द्धनमा गहन कार्य भएका छन् । अन्तरनिकायबाट संस्कृति संरक्षण तथा प्रवर्द्धन, पर्यटकीय पूर्वाधार निर्माण, सम्पदा पुनर्निर्माणको काम भएको छ ।

भर्चुअल बैठक मार्फत वार्षिक प्रगति पुस्तिका सार्वजनिक गर्दै पर्यटन मन्त्री योगेश भट्टराईले सबै भन्दा बढी पुँजीगत खर्च तथा वित्तीय र भौतिक प्रगति हुनुपर्ने समयमा प्रतिकूल परिस्थिति सिर्जना भएकाले अपेक्षित प्रगति हुन नसकेको बताए ।

‘कोभिड–१९ महामारीका कारण पुस /माघ महिनादेखि असार/साउन महिनासम्म धेरै काम हुन पाएन, त्यसैले मन्त्रालयको वार्षिक प्रगति विवरणमा यो वर्ष मन्त्रालयको पुँजीगत खर्च ६४ प्रतिशत र वित्तीय खर्च ५४ प्रतिशत गरी समग्रमा झण्डै ६० प्रतिशत मात्र प्रगति भएको छ । चालु खर्चमा ८० प्रतिशत प्रगति भएको छ ।’

मन्त्रालयले नीतिगततर्फ हवाई सेवा प्राधिकरण विधेयक, २०७७ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७७ सङ्घीय संसदमा पेस भई छलफलको क्रममा रहेको छ । हवाई नीतिको मस्यौदा बनेको छ ।

मन्त्रालयको आव २०७५/०७६ मा कूल बजेट रु ३३ अर्व १३ करोड ३७ लाख रहेको थियो । आव २०७६/०७७ मा २१ अर्व २१ करोड ६९ लाख कूल बजेट रहेको छ । आव २०७५/०७६ मा ८१ प्रतिशत रहेको औषत खर्च २०७६/०७७ भने ४९ प्रतिशत मात्र रहेको मन्त्रालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

वित्तीय व्यवस्थापनतर्फ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा ठुलो रकम विनियोजन भई खर्च हुन नसक्नु तथा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रकम भुक्तानी हुन नसक्नुले वित्तीय व्यवस्थातर्फ कम खर्च हुन गई समग्र बजेट खर्च घटेको हो । यसका साथै कोभिड–१९ महामारीका कारण खर्च प्रभावित हुन पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालय र मातहत निकायको मुख्य काम र खर्च हुने समयमा कोरोनाको प्रभावले नेपालको पर्यटन क्षेत्रलाई नराम्ररी असर पा¥यो, त्यसको प्रत्यक्ष असर मन्त्रालयको वार्षिक योजना कार्यक्रम कार्यान्वयनमा देखियो । परिणामस्वरूप मन्त्रालयले अपेक्षित नतिजा हासिल गर्न सकेन ।

तथापि, महामारीकैबीच पनि मन्त्रालयले कतिपय परियोजनामा उल्लेखनीय सफलता हात पारेको छ । मन्त्रालय मातहतका राष्ट्रिय गौरवको आयोजनाको उल्लेख्य प्रगति देखिएको छ । पशुपति क्षेत्र विकास कोषको ७० प्रतिशत, लुम्बिनी विकास कोषको ९५ प्रतिशत, भैरहवामा निर्माणाधीन गौतम बुद्ध विमानस्थलको ८५ प्रतिशत र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ६१ प्रतिशत प्रगति भएको छ । यीमध्ये पोखरा र गौतम बुद्ध विमानस्थल आयोजनाको काम महामारीकाबीच निरन्तर भए । भैरहवा विमानस्थल सन्निकट सञ्चालनको तयारीमा छ । पर्यटन मन्त्री भट्टराईका अनुसार बत्ती जडान तथा केही उपकरण जडानको काम मात्रै बाँकी छ । अबको तीन देखि ६ महिनाभित्र विमानस्थल व्यावसायिक सञ्चालनमा आउनेछ । विदेशी प्राविधिक चाहिने भएकाले केही महिना काममा विलम्ब भएको जनाइएको छ ।

भूकम्पपछिको पुनःनिर्माणमा तीव्रता
भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनःनिर्माणमा सकारात्मक प्रगति छ । हालसम्म ४५३ सम्पदाको पुनःनिर्माण कार्य सकिएको छ । सुन्धारास्थित निर्माणाधीन २२ तले धरहराको काम तीव्र गतिमा भइरहेको छ । हालसम्म ११ तला बनिसकेको छ । रानीपोखरी निर्माणको काम पनि अन्तिम चरणमा पुगेको पर्यटन मन्त्री भट्टराईले जानकारी दिएका छन् । पुरातात्त्विक स्थल संरक्षण सातवटै प्रदेशमा अघि बढाइएको छ । ग्रेट हिमालयन ट्रेटलको ७७ किलोमिटर निर्माण सकिएको छ । १२७ किलो मिटरको विस्तृत आयोजना प्रतिवेदन तयार भएको छ ।

मन्त्रालयद्धारा घोषित स्थापित तथा नयाँ विभिन्न १९२ गन्तव्यमध्ये १२२ को शतप्रतिशत र ७० गन्तव्यको ५० प्रतिशत पर्यटकीय पूर्वाधारको काम सम्पन्न भएको छ ।

बहुप्रतिक्षीत निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि अहिले विमानस्थल निर्माण क्षेत्रमा पर्ने १९ हेक्टर क्षेत्रफलमा पर्ने रुख कटानका लागि हालसम्म ६० हजार रुख गणना भइसकेको छ ।

निगमको सम्पत्ति ५४ अर्व १७ करोड

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को करुल सम्पत्ति ५४ अर्व १७ करोड रहेको छ । रु ४५ अर्व ९४ करोड ऋण रहेको छ । निगमको खुद सम्पत्ति रु आठ अर्व २३ करोड रहेको छ । याोबीचमा निगमले महत्त्वपूर्ण गन्तव्य जापानको नारितामा सिधा उडान सुरु गरेको छ । कोभिड–१९ महामारी अन्त्यपछि निगमले साउदी अरेबियाको रियाद, दक्षिण कोरियाको सिओल र चीनको ग्वाङ्जाओ उडान गर्ने तयारी गरेको छ ।

निगममा रहेका चिनियाँ जहाजको व्यवस्थापनका लागि अर्थ मन्त्रालयमा राय मागिएको पर्यटनमन्त्री भट्टराईले बताए । आन्तरिक उडानमा निगमको बलियो उपस्थिति चाहिने भएकाले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा जहाज थप्ने कार्य पनि अघि बढेको उनले जानकारी दिए ।

भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनको तयारी गरिएको र योसँगै चार्टर्ड उडान क्रमशः कम हुने मन्त्रालयले जनाएको छ । नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै मन्त्रालयले हिमाली र पहाडी क्षेत्रमा आन्तरिक उडान सञ्चालन गर्ने तयारीमा जुटेको मन्त्री भट्टराईले जानकारी दिएका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *