मेसीले दिए बार्सिलोना छाड्ने सूचना, फुटबल जगत तरंगित !
काठमाडौं । लियोनेल मेसीले बार्सिलोनालाई आफूले क्लब छोड्न चाहेको सूचना दिएका छन् । ३३ वर्षीय विश्वकै उत्कृष्ट खेलाडी मेसीले क्लबलाई फ्याक्समार्फत आफ्नो सम्झौतामा भएको रिलिज क्लजलाई कम गर्न अनुरोध गरे ।
बीबीसीका अनुसार उनले आफूलाई क्लब छोड्न अनुमति दिन अनुरोध गरेका छन् । मेसीले आफूलाई तुरुन्तै देखि क्लब छोड्ने वातावारण बनाइदिन आग्रह गरे । उनको अनुबन्धमा आफूले चाहेमा तत्काल लागू हुने गरेर बिनामूल्य क्लब छाड्न पाइने उल्लेख छ ।
६ पटकका बेलुन डो अर विजेता मेसीको बार्सिलोनाबाट बहिर्गमन हुने विषय अहिले विश्वभरका फुटबल फ्यानहरुबीच बहसको विषय बनेको छ । बार्सिलोनाका पूर्वखेलाडी र मेसीलाई चिन्नेहरुले क्लबभित्रको चरम राजनीति र अहिलेका अध्यक्ष जोसेप मारिया बोर्टेमेउको गलत नीतिका कारण क्लब संकटमा पुगेको बताउदै मेसीले क्लब छोड्ने दावी गरिरहेका छन् ।
मेसीको २०२१ सम्म बार्सिलोनामा सम्झौता रहेको छ भने अहिले ७ सय मिलियन युरो रिलिजको शर्त रहेको छ । मेसीको यस्तो अनुरोधपछि बार्सिलोनाको बोर्डको बैठक बस्न लागेको बताइएको छ ।