वीपी प्रतिष्ठानका नर्सहरुको समस्या समाधान गर्न समिति गठन

धरान । कोरोना स्वास्थ्य सामग्री उपलब्ध नगराएको लगायत विभिन्न माग राखि आन्दोलनरत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका नर्सिङ स्टाफहरुको समस्या समाधान गर्न ५ सदस्यीय समिति गठन गरिएको छ ।

आज प्रतिष्ठानका पदाधिकारी र आन्दोलनरत स्टाफ नर्सहरुका प्रतिनिधिविच भएको वार्ताबाट समस्या समाधान गर्न पाँच सदस्यीय समिति गठन गरीएको हो ।

प्रतिष्ठानका रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीका अनुसार समस्या समाधान गर्न अस्पताल निर्देशक डा.गौरीशंकर साह संयोजक रहेकोसमिति गठन गरिएको छ । उक्त समितिमा कर्मचारी प्रशासनका उमेश कोइराला, मेट्रोन उपेन्द्र यादव र नर्सिङ स्टाफहरुको तर्फबाट सफला बुढाथोकी र रमा बस्नेत रहेका छन् ।

तस्विरः भरतराज शर्मा (गाेपाल)

‘स्टाफ नर्सहरुको समस्या समाधानका लागि उनीहरुका प्रतिनिधिहरु समेत सम्मिलित ५ सदस्यीय समिति गठन गरीएको छ । एक साताभित्र समितिले समाधानसहितको रिपोर्ट बुझाएपनि उनीहरुका समस्याहरु समाधान हुनेछन् ।’ रजिष्ट्रार रेग्मीले भने ।

आजै विहान मात्र नर्सिङ स्टाफहरु उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीलाई ज्ञापनपत्र बुझाउन गएकोमा ज्ञापनपत्र बुझाउने क्रममा उपकुलपतिसहित अस्पताल निर्देशक, शिक्षाध्यक्ष, रजिष्ट्रार बीच छलफल भएको थियो ।

नर्सिङ स्टाफहरुले प्रतिष्ठानको वार्ड, आइसियु, डाइलाइसिसलगायत ठाउँमा उपचाररत विरामीहरु कोरोना संक्रमित पुष्टि भएपछि उपचारमा संलग्नहरुलाई क्वारेन्टिनको व्यवस्था गर्नुपर्ने, जोखिम भत्ता दिनुपर्ने, पिपिईको व्यवस्था गर्नुपर्ने, बढेको तलब दिइनुपर्ने, पर्याप्त रुपमा मास्क तथा पञ्जा दिइनुपर्ने, कोरोना विमा गरिनुपर्नेलगायत १६ बुँदे माग राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *