१ करोड ६८ लाख ७२ हजारभन्दा धेरैले जिते कोरोना, कति पुगे मृतक र संक्रमित ?
काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका १ करोड लाख ६८ लाख ७२ हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।
कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर १ करोड ६८ लाख ७२ हजार ५४२ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ८ लाख २९ हजार ६६४ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या २ करोड ४३ लाख ३१ हजार ५२४ छ ।
सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म १ लाख ८३ हजार ६५३ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ६० लाख ३६५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४४ हजार ६३७ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने १ हजार २८९ जनाले ज्यान गुमाएका छन् ।
अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा संक्रमितको संख्या ३७ लाख २२ हजार ४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ९० जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख १७ हजार ७५६ पुगेको छ ।
छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६० हजार ६२९ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ७५ हजार ९९५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३३ लाख ७ हजार ७४९ पुगेको हो ।
नेपालमा बुधबार देशभर गरी ८८५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ३४ हजार ४१८ पुगेको छ । अहिलेसम्म निको भएर घर फर्किनेको संख्या १९५०४ पुगेको छ । हाल आइसोलेसनमा रहेका १४७३९ जनामध्ये ६०२८ जना होम आइसोलेसनमा र ८७११ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।