२० करोड डलर ऋण लिएर प्रसारण र वितरण प्रणाली सुधार्दै कुलमान
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालमा विद्युत् प्रसारण र वितरण प्रणाली सशक्तीकरणका लागि २० करोड अमेरिकी डलर नेपाललाई अनुदान दिने सम्झौतामा आज हस्ताक्षर भएको छ ।
एडीबीका राष्ट्रिय निर्देशक मुख्तोर खामुदखानोभ र अर्थसचिव शिशिर कुमार ढुंगानाले आज उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।
यससँगै परियोजना कार्यान्वयनसम्बन्धि एक छुट्टै सम्झौतामा एडीबीका खामुदखानोभ र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हस्ताक्षर गरेका छन् ।
एडीबी सहयोगको परियोजनाले मुख्य खपत् केन्द्र (लोड सेन्टर)हरु काठमाडौं उपत्यका तथा मध्य नेपालको चितवनमा पर्ने भरतपुर महानगरपालिका, गण्डकी प्रदेशको कास्की जिल्लामा विद्युत् आपूर्ति प्रणाली सुदृढीकरण र आधुनिकीकरण गर्नेछ ।
विद्युत् खपत् गर्ने यी मुख्य केन्द्रहरुमा बेलाबेलामा आपूर्ति व्यवस्थामा अवरोध आउने गरेको लामो समय भैसकेको छ ।
अनुदान सहयोग भने नर्वे सरकारको सह–लगानीमा उपलब्ध हुन लागेको हो । यो ऋण विद्युत् आपूर्ति र वितरण प्रणाली सुधारका लागि उपलब्ध गराइएको हो ।
विद्युत् प्रसारणलाइन र वितरण प्रणाली अझै पनि सशक्त बनाउनुपर्ने र वितरण सञ्जालको क्षमता विस्तार गरेर विद्युत् आपूर्तिको गुणस्तर, विश्वसनीयता अभिवृद्धिका साथै विद्युत् खपत् केन्द्र र उत्पादनकेन्द्र बीचको ढिलाइलाई अन्त्य गर्नुपर्ने आवश्यकता छ ।
सो परियोजनाले पछिल्लो दुई वर्षमा नेपालले विद्युत् आपूर्तिमा कायम गरेको सुदृढ गतिलाई निरन्तरता प्रदान गर्नेछ । भविष्यमा आउने व्यवसायिक, औद्योगिक तथा समुदायबाट हुने माग र विशेषगरी महिलाहरुले सञ्चालन गर्ने उर्जामा आधारित उद्यमहरुलाई सहजता प्रदान गरी आर्थिक सामाजिक गतिविधिलाई बढावा दिनेछ ।