चितवनमा ४७१ कोरोना सङ्क्रमित, २७ प्रतिशत रोग मुक्त

चितवन । चितवन जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या झन्डै पाँच सयको हाराहारीमा पुगेको छ । साउन महिनाको अन्त्यदेखि हाल सम्म नियमित रूपमा सङ्क्रमित फेला परिरहेका छन् । सङ्क्रमण दर समेत बढिरहेको छ ।

भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार बिहीबारसम्म जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ४ सय ७१ पुगेको छ । कूल सङ्क्रमितमध्ये ६० प्रतिशत भरतपुर महानगरपालिकाका रहेका छन् ।

हाल जिल्लाभर ३४० सक्रिय सङ्क्रमित रहेका छन् भने १२८ जना रोगमुक्त भई घर फर्किसकेका छन् । रोग मुक्त हुने कुल सङ्क्रमित सङ्ख्याको २७ प्रतिशत हुन् भने सक्रिय प्रतिशत ७२ रहेको छ ।

कूल सक्रिय ३४० सङ्क्रमितमध्ये २५३ जनाको विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ भने ८७ जना होम क्वारेन्टिनमा रहेका छन् । अस्पतालका सूचना अधिकारी पौडेलका अनुसार सङ्क्रमणका कारण हालसम्म जिल्लामा ३ जनाले ज्यान गुमाएका छन् । जिल्लामा ८५ जना स्वास्थ्यकर्मीमा भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

यता अस्पतालले हालसम्म १८ हजार ५०० वटा पीसीआर परीक्षण गरिसकेको जनाएको छ । अस्पतालका अनुसार उसले चितवन जिल्लाका १३ हजार ९१० जनाको पीसीआर विधिबाट परीक्षण गरिसकेको छ । बाँकी ४ हजार ५९० वटा पीसीआर परीक्षण भने विभिन्न १२ जिल्लाका शङ्कास्पद व्यक्तिहरूको गरिएको अस्पतालले दिएको सूचनामा उल्लेख छ ।

भरतपुर अस्पतालमा मात्रै हाल १८४ जना सङ्क्रमितको उपचार भइरहेको छ । जसमध्ये १३१ जना चितवनका बासिन्दा हुन् भने बाँकी सङ्क्रमित अन्य जिल्लाका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *