जर्मनीमा निषेधाज्ञाविरुद्ध ठूलो प्रदर्शन, कैयौँ गिरफ्तार
काठमाडौं । कोरोनाभाइरस महामारीका कारण लगाइएको प्रतिबन्धविरुद्ध जर्मनीको राजधानी बर्लिनमा प्रदर्शनमा उत्रिएका ३०० जनालाई प्रहरीले गिरफ्तार गरेको छ । सडकमा करिब ३८,००० मानिस उत्रिएका थिए र प्रदर्शन सामान्यतया शान्तिपूर्ण रह्यो ।
जर्मनीमा जस्तै यूके, स्वीट्जरल्याण्ड, अस्ट्रिया र फ्रान्समा पनि कोरोनाभाइरस महामारी नियन्त्रणका निम्ति लगाइएका प्रतिबन्धहरूको विरोधमा प्रदर्शनहरू भएका छन् । बर्लिनको एउटा प्रदर्शनबाट करिब २०० जनालाई पक्राउ गरिएको छ ।
जर्मनीमा के भयो ?
अधिकारीहरूले दक्षिणपन्थी प्रदर्शनकारीहरूले ढुङ्गा र बोतल प्रहार गरेको आरोप लगाए । उक्त समूहलाई सुरक्षा नियमहरूको अवज्ञा गरेको भन्दै प्रहरीले तितरबितर हुन निर्देशन दिएको थियो ।तर नमानेर उल्टै आक्रमणमा उत्रिएपछि गिरफ्तार गरिएको अधिकारीहरूले जनाएका छन् । बर्लिन प्रहरीले सबै उपाय अपनाउँदा अपनाउँदै पनि तिनले काम नगरेपछि गिरफ्तार गर्नुको विकल्प नरहेको ट्विटरमार्फत् जनाएको छ । सो क्रममा सातजना प्रहरी अधिकारीहरू घाइते भएका बताइएको छ ।
मानिसहरू विभिन्न स्थानहरूमा सँगसँगै बसेका थिए । अर्को स्थानमा करिब ३०,००० मानिसहरू भेला भएका थिए। उक्त प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो । प्रदर्शनकारीहरू लगाइएका प्रतिबन्धहरूले जर्मनीको संविधानमा सुनिश्चित गरिएका आधारभूत अधिकार र स्वतन्त्रताको उल्लङ्घन गरेको ठान्छन् र ती फिर्ता लिइयोस् भन्ने चाहन्छन् ।
प्रतिबन्ध के हुन् ?
जर्मनी कोरोनाभाइरस रोकथाम, उपचार, पहिचान र नियन्त्रणका उपायहरू निकै प्रभावकारी रूपमा लागु गर्ने देशहरूमध्ये पर्छ । जर्मनी त्यो भाइरस सङ्क्रमणबाट हुने मृत्युदर न्यून भएका देशहरूमध्ये पनि एक हो ।त्यहाँ एप्रिल महिनामा भौतिक दूरीको नियम खुकुलो बनाइएको थियो । तर सङ्क्रमणको पथ पहिचान गर्ने काम जारी राखेको थियो। जुन अगस्ट महिनामा बढेको देखिन्छ । त्यहाँकी चान्सलर एङ्गेला मेर्कल र १६ वटा राज्यले अनिवार्य गरिएका स्थानमा मास्क नलगाउनेलाई कम्तीमा ५९ डलर जरिबाना गर्ने नियम बिहीवार जारी गरेका छन् ।
सार्वजनिक कार्यक्रमहरू माथिको प्रतिबन्ध पनि आउँदो वर्षसम्मको निम्ति बढाइएको छ । मेर्कलले जाडो याममा सङ्क्रमणको चुनौती बढ्नसक्ने बताएकी छन् । जर्मनीमा अन्य युरोपेली राष्ट्रहरूभन्दा कम दुई लाख ४२ हजार सङ्क्रमित भएका छन् र ९,२९७ जनाको मृत्यु भएको छ ।- बीबीसी