‘अब त्यो नर्कमा कहिल्यै फर्किन्नँ !’
विराटनगर । गहुँगोरी, हँसिलो चेहरा । होचो कद । त्यसमाथि पनि सुहाँउदो पहिरन । झट्ट हेर्दा कुनै चलचित्रकी नायिकाभन्दा कम नलाग्ने २३ वर्षीया अस्मिता (नाम परिवर्तन) को जीवन बाल्यकादेखि नै अभावको रापमा पिल्सिएर बित्यो । जहाँ, कोरिएका छन् धेरै तिता–मिठा कथाहरु ।
झापाको अनारमनीमा अभाव अनि पीडासँग जुध्दै बाल्यकाल बिताएकी उनी घरको समस्याको पोको फुकाउन १७ वर्षको उमेरमा विराटनगर आइन् ।
समस्यासँग लुकामारी खेलेकी उनी कलिलै उमेरमा विराटनगर हान्निएकी थिइन्, जहाँ ठूलो सपना अनि रहरहरु थिएनन् । वश ! टार्नु थियो, छाक । सुल्झाउनु थियो, साधारण समस्या अनि बाँच्नु थियो एउटा जीवन ।
उनी विराटनगरसम्म आउन बाटो देखाउने उनकी माइली बहिनी थिइन् । बहिनीले पारिवारिक समस्याका कारण १५ वर्षको उमेरमा घर छोडेको उनी सुनाउँछिन् ।
‘घरमा बुवा दुर्घटनामा परेर थलिएको, आमा दैनिक ज्यालामजदूरी गर्ने, हामी तीन जना दिदी–बहिनीको लालनपालन गर्न आमालाई धेरै समस्या थियो, त्यहीँ भएर बहिनीले सानै उमेरमा घर छोडेर विराटनगर बसिन् ।’ वेदना मिसिएको विगत सुनाउँछिन् उनी । उनी थप्छिन्, ‘बहिनी सानैदेखि गजल डान्सरको रुपमा काम गर्न थालिन् । ’
बहिनीले महिनामा २० देखि २५ हजारसम्म कमाएर घर खर्च पुर्याएको देखेर आफू पनि उतिनै पैसा कमाएर बा, आमाको दुःखमा साथ दिने निधो गरेको उनले सुनाइन् । रहरभन्दा पनि धेरै बाध्यताले गाँजेपछि दुई दिदीबहिनी विराटनगर आए ।
बहिनीझैँ उनले पनि गजल डान्सरको रुपमा काम गर्न सुरु गरिन् । पहिलो दिन उनलाई असहज महसुस भयो, ग्राहकहरुको रोजाईमा नाँच्नुपर्दा अपरिचित पुरुषको भीडमा बसेर उनीहरुलाई मनोरञ्जन दिइरहँदा आफ्नो व्यक्तिगत खुशी नै भुलेको अनुभव उनी सुनाउँछिन् ।
‘नसामा डुबेर बेहोश भएका पुरुषको स्पर्शले ज्यान काँपेर आउँथ्यो, उनीहरुको हेर्ने नजरले मेरा आँखा रसाएका हुन्थे । तर के गर्नु बाध्यता पहाड बनेको थियो ।’ उनले थपिन्, ‘सुरु सुरुमा त गजलमा नचिनेका लोग्ने मान्छेको हेराईले नै निर्धक्क निदाउन नसकेका कयौँ रातहरु थिए ।’
उनलाई नसाको आदत थिएन । उनी नर्मल कोक, फ्यान्टा, रेडबुल मात्रै पिउने गर्थिन् । गजलको डान्स स्टेजमा चढ्न र आउने ग्राहकलाई साथ दिन नसा लिनुपर्ने भएकाले विस्तारै उनको नसामा आदत बस्यो ।
‘झापा रहँदा आमासँगै मजदूरीको काम गर्दा आफ्नो आत्मसम्मनमा ठेस पुगेको थिएन । तर, मजबुरीमा काम गर्दा आत्मसम्मानमा ठेस पुग्ने रहेछ,’ लामो श्वास लिँदै आफ्नो पीडाबोधका चित्कारहरु उनी फाल्छिन् ।
उनी भन्छिन्, ‘आउने ग्राहकको सम्पर्क नम्बर माग्न, उनीहरुलाई दैनिक सम्पर्कमा राख्नलगायतका अडान साहुको हुन्थ्यो । जति ग्राहकलाई खुशी पार्न सक्यो, त्यही अनुसार साहुले पैसा दिने गर्दथ्यो । रातदिन आमा एक्लै दुःख गर्ने, बुवा जाँडमा डुबेर बस्ने, पैसा नुहँदा बा–आमाको दैनिक झगडा हुँदा घरमा अशान्ति बाहेक केही थिएन । समय बित्दै गयो । कामको लत बस्यो, अरु काम गर्दा पैसा थोरै हुन थाल्यो । अन्य कामतिर त ध्यान नै गएन ।’
रौनकसँगको भेटबाट बदलिएको जीवन
उनीसँगै काम गर्ने कतिपय साथीहरु बाध्यता कम रहर धेरै भएकाहरु पनि थिए । कतिपय साथीहरु भएको घरगृहस्थी बिगारेर मनोरञ्जनका लागि आएका थिए । तर, उनलाई चाहिँ आफ्नो बाध्यता बुझ्ने केटा पाए इज्जतको जीवन जिउने इच्छा थियो ।
उनले सोचेजस्तै उनको र रौनक (नाम परिवर्तन)को विराटनगरमा भेट भयो । उनी गजल डान्सर हो भन्ने रौनकलाई थाहा थियो । रौनकले अस्मिताको राम्रो अनुहारभन्दा पनि धेरै उनकोे बाध्यता र फरक स्वभावलाई प्रेम गर्दथे ।
विस्तारै रौनकको साथ, सल्लाह, जिन्दगी जिउने हौसला अनि यी यावत् कुराहरु पाएपछि रक्सीको नसा र पैसा कमाउन लागेको लत उनले भित्रैबाट हटाउने निधो गरिन् ।
उनलाई गजल डान्सरभन्दा पनि रौनककी श्रीमती भएर इज्जतको जीवन जिउने रहर जाग्न थाल्यो । विस्तारै उनले जिउँदै गरेको जीवनशैली परिवर्तन गर्नतर्फ लागिन् ।
‘लागिसकेको लत छुट्न त गाह्रो भएको थियो । तर, रौनकले मलाई धेरै माया दिनुभयो । त्योभन्दा पनि धेरै मेरो बाध्यता र परिस्थिति बुझिदिनुभयो । त्यसैले मैले उहँको लागि मेरो आदत त्यागिदिएँ, ’ उनी सुनाउँछिन् ।
रौनकको प्रेमसँग अस्मिताको बाध्यता पराजित भयो । रौनक मगर थिए भने अस्मिता दलितकी छोरी थिइन् । रौनकको परिवारले अस्मिताकाे जात थाहा पाए विवाह गर्न नदिने अवस्था थियो । परिवारले विवाहमा रोकछेक गर्छन् भन्ने त्रासले दुवैले जात लुकाएर विवाह गर्ने निधो गरे ।
अहिले उनीहरुकाे वैवाहिक यात्राले २ वर्ष पार गरिसकेकाे छ । एउटा छोरा छ । बिहे गरेदेखि आजसम्म रौनकले अस्मिताको विगत खोतलेका छैनन् । ‘हामी दुई दिदी–बहिनीलाई घरको जिम्मेवारीले अप्ठ्यारो परिस्थितिसँग जुध्न बाध्य बनायो । अब कान्छी पढ्दैछे । बहिनीलाई पढाएर ठूलो मान्छे बनाउनु छ,’ उनी भन्छिन्, ‘परिस्थिति जस्तोसुकै होस्, अब म त्यो नर्कमा फर्किन्नँ ।’