हिरासतमा मान्छेको ज्यान जानु गम्भीर अपराध हो, दोषीलाई कडा कारबाही हुनुपर्छ : वरिष्ठ अधिवक्ता
काठमाडौं । वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले रौतहटको गरुडाका दलित युवा विजयराम चमार मृत्यु प्रकरणका दोषीहरुलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर अधिवक्ता त्रिपाठीले यस्तो माग गरेका हुन् ।
उनले राज्य संयन्त्रको कारणले कोरोना महासंकटको अवधिमा मानवअधिकारको गम्भीर हनन भएको टिप्पणी गरे । उनले आज राज्य नै ठूलो भक्षकको रुपमा देखा परेको सुनाए । उनले श्रृंखलावद्ध रुपमा अहिले नागरिकहरुको अधिकार अपहरण भइरहेको पनि आरोप लगाए ।
उनले धनुषामा शम्भु सदाको पनि हिरासतमै मृत्यु भएको र अहिलेसम्म दोषीहरुलाई कसैलाई कारबाही नगरिएको स्पष्ट पारे । उनले भने, यो आफैंमा लज्जाको विषय हो । ईट्स अ म्याटर अफ शेम । यो नेपालको लागि एउटा अन्तर्राष्ट्रिय लज्जाको विषय हो ।’ पीडित परिवारको जाहेरी प्रहरी प्रशासनले लिनैपर्ने उनको भनाई छ । उनले उक्त घट्नाको बारेमा वस्तुगत र वैज्ञानिक छानबिन हुनैपर्ने पनि माग गरे ।
कार्यक्रममा अधिवक्ता शैलेन्द्र अम्बेडकरले पीडित परिवारको तर्फबाट जाहेरी दर्ता गर्न जाँदा अहिलेसम्म जाहेरी दर्ता नगरेको बताए । उनले भने,‘तीन जना प्रहरीलाई निलम्बन गरेको देखिन्छ । तर, अहिलेसम्म ईन्चार्जमाथि निलम्बन गरेको अवस्था छैन् ।’ हिरासतमा लिएर चरम यातना दिनु र त्यही कारणले मान्छेको ज्यान जानु त्यो गम्भीर प्रकृतिको अपराध भएको उनको भनाई छ ।
उक्त प्रकरणमा एकजना प्रहरी निरीक्षकसहित ३ प्रहरी निलम्बनमा परेका छन् । प्रहरी हिरासतमा रहेका विजयरामलाई चरम यातना दिएको विषयमा अनुसन्धानका लागि ईन्स्पेक्टर नविनकुमार सिंहसहित ३ प्रहरी निलम्बनमा परेका हुन् ।
गरुडा नपा–८ बसविट्टी जिंगडिया वस्ने वर्ष २० का निरन्जन रामको हत्याका आरोपमा ईलाका प्रहरी कार्यालय गरुडाले विजयरामलाई पक्राउ गरेको थियो । हिरासतमा नै बिरामी परेका उनको उपचारको क्रममा मृत्यु भएको थियो । प्रहरीको यातनाका कारण उनको मृत्यु भएको परिवारको आरोप छ ।
यसबारे अनुसन्धान हुने भएपछि उनको सोधपुछमा संलग्न ईन्स्पेक्टर नविन कुमार सिंह तथा प्रहरी हवल्दारद्वय हिरोज मियाँ धुनिया र मन्नु कुमार सिंह निलम्बनमा परेका हुन् ।