सर्वोच्चको परमादेश : ‘कोरोना संक्रमित र मृतकको ठेगाना सार्वजनिक नगर्नु’
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका तथा संक्रमितहरुको ठेगाना सार्वजनिक रुपमा प्रकाशित नगर्न–नगराउन सर्वोच्च अदालतले परमादेशको आदेश जारी गरेको छ ।
वैयक्तिक विवरण सार्वजनिक गर्दा जोखिममा रहेका वर्गहरुमाथि हुनसक्ने गलत कार्यबाट जोगाउन र समाजमा गलत सूचना जानबाट रोक्न अत्यावश्यक रहेकाले संक्रमित तथा मृतकको व्यक्तिगत विवरण सार्वजनिक गर्न नहुने सर्वोच्चको फैसलामा उल्लेख छ ।
सर्वोच्चको परमादेशमा भनिएको छ, ‘विभिन्न सामाजिक सञ्जाल, पत्रपत्रिकाहरुलगायतका सञ्चारमाध्यममा कोभिड–१९ का संक्रमित व्यक्तिहरुको सहमति बेगर व्यक्तिगत पहिचान खुल्ने विवरणहरु छाप्ने वा सार्वजनिक गर्ने कार्य बन्द गर्नु/गराउनु ।’
अधिवक्ताहरु रोशनी पौड्याल र सरोजकृष्ण घिमिरेले दायर गरेको रिट–निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो ।