उपत्यकामा दशैंसम्म निषेधाज्ञा गर्नुपर्छ : सिडिओ ललितपुर
काठमाडौं । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले दशैंसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउनुपर्ने बताएका छन् । आइतबार संसद्को शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिको बैठकमा उनले चाडबाडमा मानिसहरुको आवातजावत बढ्ने भएकाले निषेधाज्ञा नै उत्तम विकल्प भएको बताएका हुन् ।
उनले भने, ‘दशैँ आउँदै छ, केही सहजीकण गरेर भए पनि निषेधाज्ञालाई दशैँसम्म राख्नुपर्छ होला, अब चाडबाडमा मानिसको आवतजावत धेरै हुन्छ, संक्रमण बढ्छ, त्यसकारण दशैँसम्म निषेधाज्ञा गर्नैपर्छ ।’
तीजजस्ता चाडबाडमा निषेधाज्ञा गरेकाले कोरोना संक्रमण कम भएको उनले बताएयो । ‘निषेधाज्ञामा अपेक्षाकृत कोरोना नियन्त्रण नभए पनि निषेधाज्ञा नभएको भए अवस्था झनै भयावह हुने थियो’ उनले भने ।
उपत्यकामा भदौ ४ गतेदेखि निषेधाज्ञा जारी छ । हाल जारी रहेको निषेधाज्ञा भदौ २४ गतेदेखि सकिँदैछ । काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुले लकडाउन नै अहिलेको विकल्प भएको बताएका छन् ।