‘सांसद विकास कोषको रकम कोरोना राेकथाम तथा नियन्त्रणमा खर्च गरौँ’
- सृष्टि नेपाल (द्वारिका)
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांक हेर्ने हो भने भक्तपुरमा सोमबारसम्म कोरोना भाइरस (कोभिड १९) संक्रमित संख्या ७२४ पुगेको छ । जसमध्ये पुरुष ४२६ र महिला २९८ छन् ।
अहिले भक्तपुर नगरपालिकाभित्र मात्रै करिब १४० सक्रिय संक्रमित रहेको भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले जानकारी दिए । तथ्यांक हेर्ने हो भने पछिल्लो समय भक्तपुरमा पनि संक्रमण बढिरहेको उनी बताउँछन् ।
रोजगारीको हबको रुपमा स्थापित काठमाडौं उपत्यकामा बाहिरी जिल्लाबाट लाखौँ मानिसहरु भित्रने गर्दछन् । उपत्यकाका मुख्य तीन जिल्लामा संक्रमण फैलनुको मुख्य कारक पनि खुकुलो ‘आउ–जाउ’ लाई नै मानिएको छ । भक्तपुर नगर प्रमुख प्रजापति पनि यसमा सहमत छन् । उनी भन्छन्– ‘लकडाउनमा कडाइ गर्न नसक्दा उपत्यकामा संक्रमण फैलिएको हो ।’
भक्तपुरमा कसरी फैलियो संक्रमण ?
कारण स्पष्ट छ । गृहमन्त्रीसँग बैठक बस्दा हामीले पटक पटक उपत्यका क्षेत्रका नाकाहरुमा कडाइ गरौँ, अत्यावश्यक कामबाहेक बाहिरी जिल्लाबाट आउजाउ बन्द गरौँ भनेका थियौँ । तर उहाँले सुन्नुभएन ।
सुरुवाती चरणमा नै भारतीय सीमा नाकामा कडाइ गर्न सकिएको भए सायद अहिले यसरी नेपालमा फैलन पाउने थिएन । त्यतिबेला न कोरोनाको पीसीआर परीक्षणमा ध्यान दिइयाे, न त क्वारेन्टिन नै व्यवस्थित बनाइयो । उल्टो कोरोना संक्रमणको हब बन्यो क्वारेन्टिन । अधिकांशलाई जाँच नगरी घर पठाउँदा गाउँगाउँमा पुग्यो संक्रमण । त्यही लापरवाहीको नतिजा हो यो ।
संक्रमण नियन्त्रणमा भक्तपुर नगरपालिकाका पछिल्ला गतिविधि
कोरोनाको औषधि पत्ता नलागेको यो अवस्थामा नियन्त्रणको एउटा मुख्य पाटो भनेको सचेतना हो । भक्तपुर नगरपालिकाले जनसमुदायमा त्रासको अवस्था आउन नदिन दिनहुँ स्वयम् सेवकमार्फत् यी कार्यहरु निरन्तर गरिरहेकाे छ ।
त्यस्तै टोलटोलमा साबुनपानीको व्यवस्था गरिदिएका छौँ । निसंक्रामक औषधिहरु छर्ने कामहरु पनि दिनहुँ भइरहेका छन् । भीडभाड हुन नदिन सम्पूर्ण जात्रा, पर्वहरु स्थगित गरी घरैमा मनाउन आग्रह गर्यौँ । जनसमुदायले मान्नु पनि भयो ।
यति गर्दागर्दै पनि विस्तारै भक्तपुरमा संक्रमण बढ्दै गएको छ । यसैलाई मध्येनजर गर्दै आवश्यक परेको खण्डमा जुनसुकै समयमा पनि उपचार तथा परामर्शका लागि दुई जना चिकित्सकहरुको नम्बर सार्वजनिक गरी खटाएका छौँ । अन्य क्षेत्रका केही विज्ञहरुको पनि सम्पर्क नम्बर सार्वजनिक गरेका छौँ, जसमार्फत् घरैमा बसेर पनि स्थानीयले सेवा लिन सक्छन् ।
कन्ट्याक्ट ट्रेसिङका कामहरु पनि भइरहेको छ । आइसोलेसन, क्वारेन्टिन विस्तारको योजना पनि बनिरहेको छ ।
राहत प्याकेज
लकडाउनको सुरुवाती चरणमा हामीले धेरै राहत वितरण गर्यौँ । अहिले बाहिरी जिल्लाका नागरिकहरु पनि आफ्नै जिल्ला फर्किनुभएको अवस्थामा राहत प्याकेज राखेका छैनौँ ।
हामीले अहिले स्वास्थ्य जाँच गरेर विभिन्न निर्माणका कामहरु सुचारु गरेका छौँ । अब राहत दिएर साध्य लाग्दैन । त्यसैले काममा लगाउने, त्यसकै आधारमा ज्याला दिने गरेका छौँ । कोही भोको हुनु नपरोस् भनेर काम र माम दुवै नभएकालाई भने राहत घोषणा नगरी नै सहयाेग गर्ने गरेका छाैँ ।
नागरिक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँगको समन्वय
नागरिकबाट सहयोग नभइ हामी अगाडी बढ्नै सक्दैनौँ । हामीले जात्रा, पर्वमा यस्तो नगर्नुहोस् भनेर आग्रह गर्यौँ, उहाँहरुले मानेर घरैमा बस्नुभयो । कानुनभन्दा पनि अत्यन्तै कडा त अनुशासन रहेछ भन्ने प्रमाणित गरेको छ कोरोनाले ।
उहाँहरुले कोरोना नियन्त्रणमा नगरपालिकाले गरेका सम्पूर्ण गतिविधि तथा कार्यक्रम स्वीकार्नु भएको छ । व्यवस्थित भएर बसिदिनु भएको छ । यद्यपी केही कमिकमजोरी भएका छन्, जसकारण भक्तपुरमा पनि अहिले संक्रमण बढ्दै गएको छ । यसकाे थप जाेखिम टार्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, प्रत्येक वडाका वडाध्यक्ष, कर्मचारीहरुसँग समन्वय गरी अगाडी बढेका छाैँ।
चासो निषेधाज्ञाकोः अझै लम्बिन्छ ?
अहिले उपत्यकावासीमा मुख्य चासोको विषय भनेको निषेधाज्ञा बनेको छ, जुन २४ गतेसम्म जारी छ । हामीले त सुरुमा करिब १० दिनसम्म निषेधाज्ञा कडा गर्ने र विस्तारै खुकुलो बनाउँदै लैजाने योजना बनाएका थियौँ । तर उपत्यकाका सिडिओहरुले बिहान ९ बजेसम्म व्यापार व्यवसाय खोल्न दिने निर्णय गर्नुभयो, त्यसपछि यो अझै फितलो भएको हो ।
अब लामो समयसम्म निषेधाज्ञा लम्ब्याउँदा पनि समस्या सिर्जना हुन सक्छ । नगर्दा पनि समस्या नै छ । सुरुमा कडाइ गरेको भए अहिले विस्तारै खुकुलो बनाउँदै लगेर खुल्ला गर्न सकिन्थ्यो । अहिले त समुदायस्तरमै फैलिसकेको छ । ट्राभल हिस्ट्री नभएकाहरुमा समेत संक्रमण देखिएको छ । अब निषेधाज्ञा लम्ब्याएर केही फाइदा छैन । सुरुक्षाका मापदण्ड अपनाएर उद्योग, व्यापार व्यवसाय सञ्चाल गर्न दिनुपर्छ । नत्र नागरिकलाई अप्ठेरो हुन्छ ।
‘केन्द्र, प्रदेशको पत्राचारले कोरोनासँग लड्न सकिँदैन’
वास्तवमा केन्द्र, प्रदेश र स्थानीय सरकारको समन्वयात्मक कार्यले कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सक्छ । समन्वय हुन नसक्दा कोरोना ‘महामारी’ का रुपमा फैलिएको हो । सबैले आ–आफ्नो ढंगले गरे, कमजोरी यहीँनेर हुन गयो । एउटा पत्राचार गरेर सबै समस्याको हल हुँदैन !
आइसोलेसन कस्तो र कति बनाउने, भेन्टिलेटर कतिवटा राख्ने, नर्स, डाक्टरको बन्दोबस्त कसरी गर्ने, कति परिचालन गर्ने, पीसीआर मेसिनको बन्दोबस्त लगायतका कार्यमा केन्द्र र प्रदेश सरकारले स्थानीय तहलाई सहयोग गर्नुपर्ने हो, तर जे गर, नगरपालिका आफैँले गर भनेर छोडिएको छ । नगरपालिकाहरुले पनि आफ्नो क्षमता अनुसार गरिरहेकै छन् ।
ठाउँठाउँमा पीसीआर मेशिन जनशक्तिसहित पठाइदिएको भए, तत्काल परीक्षण हुन्थ्यो । तत्काल रिपोर्ट आउँथ्यो । अहिले स्वाब परिक्षणको रिपोर्ट एक हप्तापछि आउँछ, रिपोर्ट आउने बेलासम्म एउटा मान्छेले धेरैलाई संक्रमित बनाइसकेको हुन्छ । संक्रमण तीव्र रुपमा फैलनुको मुख्य कारण पनि यही हो ।
केन्द्र, प्रदेश र स्थानीयको खर्च तथा सामाजिक जिम्मेवारी छुट्याउने हो भने धेरै राम्रोसँग काम गर्न सकिन्छ । न पीसीआर मेशिन राखिदिएको छ, न त स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको मनोबल बढाउने काम नै भएको छ ।
आर्थिक सहायताको कुरा गर्ने हो भने प्रदेश सरकारले १२ लाख रुपैयाँ दिएको छ । अहिलेको समयमा यो हात्तीको मुखमा जिरा भनेजस्तै छ । केन्द्रले त अहिलेसम्म पत्र पठाउने बाहेक कुनै सहयोग नै गरेको छैन । सबै भार नगरपालिकाको टाउकामा थुपारिएको छ । यही स्थितिका कारण पनि नगरपालिकाहरुले फेरि राहत वितरण गर्न सक्ने अवस्था छैन । किनकी लकडाउनको सुरुवाती चरणमा नै नगरपालिकाले करोडौँको राहत वितरण गर्यो । अहिले खर्च अभाव छ । कर्मचारी प्रशासन पनि चलाउनै पर्यो । विकास निर्माणका कामहरुमा पनि खर्च गर्नैपर्यो ।
केन्द्रले सांसद विकास कोषमा वर्षैपिच्छै अर्बौँ रकम पठाएको हुन्छ । यो सबै रकम कोरोनासँग लड्न प्रत्येक नगरपालिकाहरुमा पठाउने हो भने यसले धेरै राहत मिल्छ । धेरै कामहरू गर्न सकिन्छ । अहिले विकास निर्माणको सम्भावना कम छ । त्याे काेषकाे रकम काेराेना नियन्त्रणमा खर्च गर्ने हाे भने सजिलै महामारीबाट निप्टिन सकिन्छ ।
संक्रमण बढ्ने जोखिमः नियन्त्रणमा चुनौती र भावी योजना
पछिल्लो समय कोरोना संक्रमण समुदायस्तरमै फैलिसकेको अवस्था छ । यसलाई महामारीका रुपमा समुदायमा फैलन नदिन तथा रोकथाम गर्न पीसीआर परीक्षण बढाउनुपर्छ । अहिले धेरै संख्यामा पीसीआर गर्न सकिएको छैन । यो नै अहिलेको मुख्य चुनौती बनेको छ । प्रदेशमन्त्रीसँग पटक पटक पीसीआर मेशिनका विषयमा कुरा राखेका छौँ, तर हप्ता दिन बितिसक्दा पनि प्रक्रिया अगाडी बढ्न सकेको छैन ।
कोरोनाको औषधि पत्ता नलागेसम्म स्वास्थ्य सुरक्षाका नीति अवलम्बन गरेर अगाडी बढ्नुको विकल्प छैन । जनचेतना फैलाउने काम जारी छ । व्यवसायी, उद्योगी तथा विद्यालयहरुसँग पनि समन्वय गरिरहेका छौँ । अहिले करिब २ सय जना अट्ने क्षमताको क्वारेन्टिन छ ।
क्वारेन्टिनकै लागि भनेर हामीले दुई चार वटा होटलसँग पनि समन्वय गरिरहेका छौँ । भक्तपुर अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गरेका छौँ । यसलाई आवश्यकता अनुसार विस्तार गर्नेछौँ । अब स्वास्थ्य मापदण्डहरु पुरा गरी विस्तारै कामहरु सुरु गर्नुपर्छ ।