म लडिरहने छु !

 

जिउँदैछु म हिम्मत हारेको छैन
आशाको दियो अझै निभेको छैन
नशामा रगत बगिरहेकै छ
मुटुमा चाल धड्केकै छ
ओठमा हाँसो नभएर के भो ?
आत्मबल एकरत्ती घटेको पक्कै छैन

रोगले थला परेको हैन
शरीर सिथिल भएको छैन
हातगोडा कमजोर भएर काँपेका छैनन्
सास फेर्न गारो भएको कहाँ हो र ?
शरीरले नयाँ अनुभव बटुल्दै छ
अनि जिन्दगीले नयाँ गोरेटो चुम्दै छ

हो म युद्धमा हारेको सिपाही हुँ
न कुनै गोला बरुद न त हतियार
न त दुश्मनको कुनै निसाना
तै पनि म युद्धमा पराजित भएँ
आज दुश्मनको कब्जामा परेको छु
तर मेरो शिर अलिकति पनि ढलेको छैन

आमाको स्याहार उ बेला कम रहेनछ
आजसम्म त्यै बेलाको स्याहारले धान्दै रैछ
धन्य आमा ! तिमी महान् छौ, खै अब त
लडदा लड्दा तागत सकिएछ क्यारे
दुश्मनले गम पायो अनि त म सिथिल भए
तर अझै पनि मैले हार मानेको छैन

म युद्धमा नहारुँ पनि कसरी
न त लड्ने कला न त कुनै सीप
त्यसैले म जस्ता कयौं सिपाही हार्नेछ्न
तर यो हार पराजित मानसिकताको हैन
यो त मेरो मातृभूमिको लागि समर्पण हो
त्यसैले मेरो आत्मसम्मान गुमेको छैन

म हारेर के भो कसैलाइ जित दिलाएको छु
हजारौं आमाका सन्तान जोगाएको छु
आफ्नै परिवार दाउमा राखेर लडेको छु
जहाँ म जस्ता सिपाहीको हार अवश्य थियो
तर हारेर पनि म विजय उत्सवमा छु
किनकी, आमाका ति सपनाहरु पूरा गर्दै छु

बटुल्नु छ सहासका पहाडहरु
अनि अनगिन्ती सपनाका महलहरु
चिर्नु छ समाजका भ्रमहरु अनि देखाउनु छ
यहाँ रोग भोक र गरिबीले हैन मानवता हराएर
मानिस हार्दै छ, मृत्युको अगाडि लमपसार पर्दै छ
त्यसैले यहाँ लिलामी भएको मानवता फर्काउनु छ

अझै मोर्चाको अग्रपंक्ति मै होमिएको छु
फेरि लड्ने तागत बटुलेर फर्किँदै छु
म कति पनि बिचलित हुने छैन
किनकी मैले हिम्मत हारेको छैन
अब त मैले सहास बटुल्नु छ अनि जोड्नु छ
ती प्रत्येक सिपाहीलाई जो लडिरहेका छन्
अनि लडिरहनेछन् ।

दिपक कटुवाल, खाँदबारी संखुवासभा
प्रहरी नायब निरीक्षक इलाका प्रहरी कार्यालय, धरान[जो अहिले कोभिडसँग लडिरहेका छन् ।]

प्रतिक्रिया