कोरोना संक्रमणबाट भारतीय रेल राज्यमन्त्री अंगडीको निधन

काठमाडौं । भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अंगडीको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । ६५ वर्षीय अंगडी दिल्लीस्थित एम्स अस्पतालमा उपचाररत थिए ।

उपचारकै उनको क्रममा बुधबार साँझ निधन भएको हो । १३ दिनअघि (११ सेप्टेम्बरमा) कोरोना पोजिटिभ भएको रिपोर्ट आएपछि उनी अस्पताल भर्ना भएका थिए । उनी आफैँले ट्विट गर्दै संक्रमित भएपछि अस्पताल भर्ना भएको जानकारी दिएका थिए ।

अंगडी सन् २००४ देखि लगातार लोकसभाका लागि निर्वाचित भएका थिए । उनी १७औँ लोकसभाका लागि कर्नाटकको बेलगाम क्षेत्रबाट निर्वाचित सांसद हुन् । लगातार चौँथोपटक लोकसभामा निर्वाचित भएपछि उनलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रेल राज्‍यमन्त्रीको जिम्मेवारी दिएका थिए ।

यसबीच रेल राज्यमन्त्री अंगडीको निधनप्रति भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले समवेदना प्रकट गरेका छन् । उनको निधनको शोकमा भारतको गृह मन्त्रालयले बिहीबार दिल्लीका सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

प्रतिक्रिया