‘अनशनरत डा. केसीसँग सरकारले माफी माग्नुपर्छ’
काठमाडौं । विवेकशील नेपाली दलले सरकारले अनशनरत डा. गोविन्द केसीसँग माफी माग्नुपर्ने माग गरेको छ । आज विज्ञप्ति निकालेको विवेकशीलले यस्तो बताएको हो ।
सभ्य समाजमा अस्वीकार्य व्यवहारको लागि सरकारले डा. केसीसँग माफी माग्नुपर्ने दलले जनाएको हो । “सभ्य समाजमा अस्वीकार्य ती व्यवहारको लागि सरकारले डा. केसीसमक्ष निःसर्त माफी मागी अब आइन्दा नदोहोर्याउने प्रतिबद्धता जनाओस् ।” विज्ञप्तिमा भनिएको छ ।
यस्तै दलले सरकारले सहमतिको पालना नगरेकोसमेत ठहर गरेको छ । डाक्टर केसीका मागहरुप्रति संवेदनशील र जिम्मेवारपूर्ण रूपमा प्रस्तुत हुन नसक्नु खेदपूर्ण रहेको विज्ञप्तिमार्फत् जनाइएको छ ।
डा. केसीले गत २९ भदौदेखि जुम्लाबाट अनशन शुरु गरेका छन् । उनी अहिले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा छन् । यसपटकको आफ्नो १९ औं अनशनमा डा. केसीले ६ बुँदे माग अघि सारेका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सञ्चालन गर्नुपर्ने, २०७५ साउन १० को सहमति कार्यान्वयन गर्नुपर्नेलगायतका मागहरु केसीले राखेका छन् ।
यसअघि विभिन्न संघसंस्थासँगै मानव अधिकार आयोगले समेत डा. केसीको जीवनरक्षा गर्नुपर्ने तथा उनको मागहरुमा सरकारले ध्यान दिनुपर्ने बताउँदै विज्ञप्ति निकाल्दै आएका छन् ।