कथा : च्यातिएको दरपिठ
ठेकेदारको भव्य घरको बैठक कोठाको सोफामा मन्त्री र अरु तीन जना नेताहरु बसिरहेका थिए । मन्त्रीको स्वकीय सचिव छान्ने काम हुँदै थियो । त्यागी, इमान्दार, योग्य एकजना कार्यकर्ता अध्याँरो मुख लगाएर बाहिर निस्केपछि रुपलाल र एकजना सिफारिस गर्ने व्यक्ति भित्र पसे । हट्टाकट्टा र लामा लामा जुँगा भएका रुपलाललाई मन्त्रीले देख्ने बित्तिकै चिनिहाले । मन्त्रीको दिमागमा दश वर्ष पहिलेको बिर्सनै नसकिने घटनाक्रमको स्मरण छिटो छिटो घुमिरह्यो ।
ती मन्त्री त्यतिबेला पार्टीका न्यायाधीश थिए । रुपलाललाई कारवाही गर्ने उनै थिए । रुपलाललाई पार्टीले ठेकी बेठी लिने सुदखोर, बहुविवाह, जड्याहा, तस्कर, विचौलिया, सार्वजनिक जग्गा हडपेको लगायत क्याम्पससँगकाे मिलेमताेमा जासुस गरेको जस्ता बाह्रवटा अभियोग लगाइएको थियो ।
कर्मचारी सत्ताधारी नेताहरुसँग मिलि विकास निर्माणका योजनाहरुको रकममध्ये एक तिहाइ कार्यस्थलमा पुग्दैनथ्यो । योजना नै नपर्नुभन्दा थोरै भएपनि निकासा गरिदिएकोमा गाउँलेहरु खुशी नै थिए । भूमिगत पार्टीले किसानको हितका लागि कृषि विकास बैंक जलाएका थिए । किसानहरुले ऋण लिँदा धरौटीका लागि राखिएका लालपुर्जा घर घरमा पुर्याइएको थियाे । गाउँलेहरु ऋण तिर्न पनि नपर्ने र लालपुर्जा पनि पाएकोमा फुरुङ्ग थिए । तर तिनीहरुको यो खुशी धेरै दिन टिकेन ।
रुपलालले आ-आफ्नो लालपुर्जा झिकेर लगेपछि बैंक जलाएको उजुरी क्याम्पमा दिए । तिनीहरुको लालपुर्जा घर-घरमा पुगे/ नपुगेको बारे आर्मीले खानतलासी गर्यो । धन कमाउने र बढुवा हुने मौका क्याप्टेनले चुकाएनन् । पचास जनालाई मुखमा टालो बाँधि क्याप्पभित्र छिराइयो । सबै घरका परिवारजन रुपलालको घरमा जम्मा भइ आ-आफ्नो मानिसलाई क्याप्पबाट जसरी भए पनि छुटाउन बिन्ती भाउ गरे । क्याप्टेनसँगको सल्लाहमा आर्थिक हैसियतको आधारमा न्युनतम पचास हजारदेखि अधिकतम दुई लाखसम्म पैसा जम्मा गर्दा पैँतीस लाख पुग्यो । यसबाट रुपलाललाई पन्ध्र प्रतिशत भाग लाग्थ्याे । पछिल्लो समयमा यहि कारणले पार्टीले उनलाई कब्जामा लिएको थियो ।
न्यायाधीश, तीन जना नेता र आठ जना सुरक्षाकर्मीको टोली गाउँ-गाउँमा भाटे कारवाही, आर्थिक भरौती र ज्यान कब्जा लिने सम्मका कारवाहीका लागि दौडाहामा निस्केको थियो । यहि क्रममा रुपलाललाई घरबाट लिएर गएका थिए । पहिलो दिन एउटा दुर्गम ठाउँको गाउँको एकान्त गोठमा इजलास बसेको थियो । रुपलाललाई भने हेडक्वाटरमा लगेर कारवाही गर्ने योजना थियो । त्यहाँ एउटा यस्तो मुद्दा आयो- एक जना असामीले आफूले चार वर्षको ब्याज र आधा सावाँ बुझाइ तमसुकमा दरपिठ गरेको दाबी गर्छन् भने साहुले तमसुकको पछाडि केहि नलेखेको देखाउँछन् ।
यो विवाद बढ्दै गयो । कुनामा बसेका रुपलालले त्यो तमसुक हेर्न पाएमा आफूले सत्य पत्ता लगाउने ठाेकुवा गरे । न्यायाधीश कमरेडले फटाहाले यस्ता कुरा थाहा पाउँछन् भन्दै तमसुक रुपलाललाई दिए । रुपलालले तमसुक ओल्टाइ पल्टाइ गरि हेरेपछि भने- यो तमसुकको ब्याज तिरिएको छ ।
केको आधारमा ब्याज तिरेको भन्छस् है फटाहा ? न्यायाधिश कमरेड कड्किए । रुपलालले शान्तपूर्वक नम्रतासाथ भने- श्रीमान् कमरेड ! तमसुकको माथि डेड इन्च ठाउँ छोडिएको हुन्छ । सबैभन्दा माथि बिच भागमा ‘श्री’ लेखिएको हुन्छ । त्यसभन्दा तल मात्र लिखितम् धनी साहुका नाम….बाट तमसुक सुरु हुन्छ । तर यो तमसुकमा श्री पनि छैन । खाली ठाउँ पनि आधा इन्च मात्र छोडिएको छ । ब्याज बुझाई दरपिठ गरेको भाग साहुले च्यातेकै हो । नेताले दुई झापड हानेपछि साहुले आफ्नो कर्तुत स्वीकारे । अब रुपलालको प्रसिद्धि दौडाहा टोली सम्बन्धित ठाउँमा पुग्नु अघि नै चर्चा हुन थाल्यो । वादी प्रतिवादी दुवैले मुद्दा आफ्नो पक्षमा पार्न रुपलाललाई गोप्य रुपमा घुस दिन थाले ।
दशौँ दिनमा दौडाहा टोली हेड क्वार्टर पुग्यो । नेता कमरेडले रुपलाललाई व्यंग्यात्मक शैलीमा भने- गाउँमा हुन्थिस् भने यो दश दिनमा कति आम्दानी गर्ने थिइस् फटाहा ! अहिले बल्ल चाउरिस् ।
रुपलालले इष्टकोटको भित्रि गोजीबाट एक लाख बीस हजारको नोटको बिटो झिकि न्यायाधीश कमरेडको अगाडि राख्दै भने- गरीब गाउँ रहेछ । दिनको औसत बाह्र तेह्र हजार आम्दानी भयो । यो कसरी भयो ? घरबाट हिडाउँदा त सबै खानतलाश गरेको हो । रुपलालले आफ्नो कमाईको सबै विवरण सुनाए । त्यतिबेला सबै चकित परेका थिए । रुपलालले पैसा बुझाइ सकेपछि त्यस ठाउँमा एक्कासी हवाई आक्रमण भयो । आ-आफ्नो ज्यान जोगाउन सबै तितरबितर भए । रुपलाल पनि वनैवन भागि चार दिनको दिन टाढाको आफन्तकाे घरमा सकुशल पुगे । एक वर्षपछि मात्र घर पुगि त्यहि पार्टीको सदस्य बने ।
एक मिनेटमा माथिको कुरा स्मरण गरेपछि मन्त्रीले भने- वर्तमान परिपेक्षमा सबै दृष्टिकोणले रुपलाललई नै स्वकीय सचिवमा राख्नु उपयुक्त हुन्छ । समर्थनको लागि नेतागणतर्फ पुलुक्क हेरे । त्यहाँ भएकामध्ये वरिष्ठ नेताले भने- तपाइँको सचिव तपाईंले नै छान्नुहोस् । रुपलाल कमरेड बारे धेरै कुरा तपाईंलाई नै थाहा छ ।
उहाँको कुशलताको बखान सुन्दा नै हामी त पहिल्यै प्रभावित भइसकेका थियाैँ । रुपलाले गर्वसाथ भने- चिन्ता लिनु पर्दैन । हजुरहरुले सोचेभन्दा बढी काम म गर्नेछु । त्यसपछि प्रशन्न चेहराका साथ केहि क्षण एक अर्कोलाई हेराहेर गरिरहे ।