अहिले कस्तो छ अमेरिकी राष्ट्रपति ट्रम्पको स्वास्थ्य ?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो स्वास्थ्यमा सुधार भएको तर आगामी केही दिन “वास्तविक परीक्षाको घडी” हुने बताएका छन् । कोभिड-१९ पुष्टि भएपछि ट्रम्पको स्वास्थ्यबारे मिश्रित सन्देशहरू आइरहँदा शनिवार साँझ ट्विटरमा उनको भिडिओ पोस्ट गरिएको हो ।
राष्ट्रपतिका चिकित्सकले शनिवार अबेर जानकारी गराएअनुसार राष्ट्रपतिको स्वास्थ्य राम्रो भइरहेको र सङ्क्रमण पुष्टि भएयता उल्लेख्य सुधार आएको छ । राष्ट्रपति ट्रम्प दोस्रो रात अस्पतालमा बिताउँदैछन् ।
खतराबाट अझै बाहिर आइनसकेको अवस्थामा “हाम्रो टोली राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे सावधानीपूर्वक आशावादी रहेको” डा. सीन कोन्लीले एउटा विज्ञप्तिमार्फत् बताएका छन् । केही घण्टाअघि चार मिनेट लामो भिडिओ सन्देशमा राष्ट्रपति ट्रम्पले वाशिङ्टनस्थित द वाल्टर रीड न्याश्नल मिलिटरी मेडिकल सेन्टरका चिकित्सक तथा नर्सहरूलाई धन्याद दिएका छन् ।
“म यहाँ आउँदा मेरो स्वास्थ्य त्यति राम्रो थिए । अहिले म पहिलाभन्दा राम्रो महसुस गरिरहेको छ,” उनले भने । “मेरो विचारमा आउँदा केही दिन वास्तविक परीक्षाको हुनेछ । अब हेरौँ के हुन्छ ।” उनले आफू निर्वाचन प्रचारप्रसारमा फर्किन चाहेको उनले बताए । नोभेम्बर ३ मा हुने राष्ट्रपतीय चुनावमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडनसँग ट्रम्पको प्रतिस्पर्धा हुँदैछ ।
शनिवार बिहान डाक्टर कोन्लीले राष्ट्रपति ट्रम्पलाई अहिले अतिरिक्त अक्सिजन नदिइएको र विगत २४ घण्टादेखि उनलाई ज्वरो नआएको बताए । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका अनुसार राष्ट्रपति ट्रम्प “केही दिन” द वाल्टर रीडमै रहने अपेक्षा गरिएको छ ।
कोन्लीले राष्ट्रपति ट्रम्पको स्वास्थ्य अवस्थाबारे सावधानीपूर्ण आशावादी रहेको र उनी अस्पतालबाट कहिले डिस्चार्ज हुनेछन् भन्नेबारे समयसीमा तोक्न नसकिने बताए ।
यद्यपि ह्वाइट हाउसका चीफ अफ स्टाफ मार्क मीडोजले राष्ट्रपति ट्रम्पको स्वास्थ्य अवस्थाबारे चिन्ता व्यक्त गर्दै उनको स्वास्थ्य सुधार हुने दिशातर्फ गएको भन्ने अझै स्पष्ट सङ्केत पाइनसकेको बताए । राष्ट्रपतीय चुनावको जम्मा ३२ दिनअघि ट्रम्पलाई कोरोनाभाइरस पोजिटिभ देखिएको थियो । –बीबीसी