२३ करोड बढीको राजस्व ठगी : दुई कम्पनी विरुद्ध मुद्दा दर्ता

काठमाडौँ । झुटा तथा नक्कली मूल्य अभिवृद्धि करको बिजक प्रयोग गरी राजस्व चुहावट गरेको अभियोगमा दुई फर्मविरुद्ध २३ करोड २२ लाख रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर भएको छ। राजस्व अनुसन्धान विभागले मनिष ट्रेडिङ कन्सर्न र सहारा एन्ड खातुन ट्रेडर्सविरुद्ध मुद्दा दायर गरेको हो।

विभागले ललितपुरको महालक्ष्मी नगरपालिका–स्थित मनिष ट्रेडिङ्ग कन्सर्नका मुख्य कारोबारी किशोरी यादव समेत ३ जनाबाट १३ करोड २५ लाख ८८ हजार २ सय ६३ रुपैयाँको बिगो जरिवाना र कैद मागसहित उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो ।

मनिष ट्रेडिङ्ग कन्सर्नले निम्न आर्थिक अवस्था भएका व्यक्तिको नाममा फर्म दर्ता गरी वस्तु तथा सेवा एउटा आयात तथा खरिद देखाई अर्कै माल वस्तुको झुठ्ठा बिजक मात्र बिक्री गरी राजस्व चुहावट गरेको विभागको दाबी छ ।

विभागका अनुसार प्रतिवादीहरू मुख्य कारोबारी किशोर यादव र काठमाडौँ महानगरपालिका–१४ वाफल बस्ने खाता सञ्चालक लिहला अग्रवालले सिरहा मिर्चैया नगरपालिका – ११ बस्ने मागैन यादवको नाममा फर्म दर्ता गरी उक्त फर्मबाट कपडा, कुर्थासरवाल, रेडिमेड सामान आयात गरेको देखाई फलामे डण्डी, सिमेन्ट, फोटोकपी पेपर, टोनर, पाइप फिटिङ्ग जस्ता माल वस्तुको बिक्री बिजक बनाई बिजक मात्र बिक्री गरी राजस्व चुहावट गरेको अनुसन्धानबाट खुलेको छ ।

यस्तै विभागले बाराको रामपुर टोकनी–३ स्थित साहारा एण्ड खातुन ट्रेडर्स का प्रोप्राइटर विरन खातुनबाट ९ करोड ९६ लाख चौवन्न हजार सात सय रुपैयाँ बिगो असुल गरी जरिवाना र कैद माग दाबी लिई असोज १९ गते उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ ।

उक्त कम्पनीले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक मात्र बिक्री गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसुर गरेको देखिएको विभागको दाबी छ ।

प्रतिवादीहरूले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम राजस्व ठगी गरेको पाइएकाेले सोही रकम बराबरको बिगो कायम गरी असुल उपर जरिवाना र कैद सजाय माग दाबी लिई मुद्दा दर्ता गरिएको विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया