कोरोना संकटकै बीच भारत बिहारमा मतदान

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड१९) संक्रमणकै समयमा भारत बिहारमा विधानसभा चुनाव सुरु भएको छ । पहिलो चरणको चुनाव बुधबारबाट सुरु भएको हो ।

पहिलो चरणमा बिहारका १६ जिल्लाका ७१ सिटका लागि मतदान भइरहेको छ । पहिलो चरणको चुनावमा १ हजार ६६ जना उम्मेदवार चुनावी मैदानमा छन् । बिहारको विधानसभाका २४३ सिटको छ । दोस्रो चरणको मतदान ३ नोभेम्बरमा हुनेछ भने तेस्रो चरणको मतदान ७ नोभेम्बरमा हुनेछ ।

पहिलो चरणको मदतानमा २ करोड १४ लाख मतदाता सहभागी हुने अनुमान गरिएको छ । कोरोना संक्रमण विश्वमै सबैभन्दा धेरै फैलिएको देशमध्ये दोस्रो नम्बरमा रहेको भारतमा भइरहेको चुनावलाई महत्वका साथ हेरिएको छ । ​

मतदानस्थलमा मतदाताका लागि स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । पहिलो चरणको मतदानका लागि राष्ट्रिय जनता दलले ४२ सिटमा उम्मेदवारी दिएको छ । लोक जनशक्ति पार्टीले ४१, राष्ट्रिय लोक समता पार्टी ४०, भारतीय जनता पार्टी (भाजपा) २९ सिटमा चुनाव लड्दैछन् । ​

भाजपाको सहयोगी मानिएको जनता दल युनाइटेड ३५ सिटमा चुनाव लड्दै छ । पहिलो चरणको मतदानमा ३५ सिटमा कांग्रेस र ८ सिटमा कम्युनिस्टका उम्मेदवार चुनावी मैदानमा छन् । एजेन्सी

प्रतिक्रिया