अमेरिकी निर्वाचनः फ्लोरिडामा ट्रम्प जितको नजिक

काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावको मत परिणाम आउने क्रम जारी छ । पछिल्लो मत परिणाम अनुसार डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले केही अग्रता बनाएको देखिए पनि रिपब्लिकन उम्मेदवार ट्रम्पले नै राष्ट्रपतिको उम्मेदवार बन्ने संकेत देखिएको छ ।

अमेरिकी मिडियाहरूले सार्वजनिक गरेको पछिल्लो नतिजा अनुसार बाइडेनको पक्षका १३१ इलेक्टोरल कलेजले जित हासिल गरेका छन् भने ट्रम्पको पक्षका ९८ जनाले जित हात पारेका छन् । यो हेर्दा नतिजा बाइडेनको पक्षमा देखिए पनि धेरै इलेक्टोरल भएका राज्यहरुमा ट्रम्पले अग्रता बनाएका छन् ।

३८ इलेक्टोरल भएको टेक्सास, २९ इलेक्टोरल भएको फ्लोरिडा, २० इलेक्टोरल भएको पेन्सिलभेनिया, १८ इलेक्टोरल भएको ओहिओ लगायतका राज्यमा ट्रम्पले अग्रता बनाएका छन् । बाइडेनले थोरै इलेक्टोरल भएका केही राज्यमा मात्रै अग्रता कामय गरेका छन् ।

बीबीसीले उल्लेख गरेअनुसार अमेरिकी निर्वाचनमा मतगणना भैरहँदा पेन्सिल्भेनिआ, मिशिगन, विस्कनसिन र ओहायो राज्यहरूको नतिजा जुनसुकै पक्षमा जानसक्ने गरी मत परिणाम आइरहेका छन् ।

रिपब्लिकनहरूको पकड रहँदै आएको एरिजोना र टेक्ससको नतिजा पनि प्रतिस्पर्धी देखिएको छ। टेक्ससमा बाइडनको जित भएमा त्यो राजनीतिक भूकम्प सरह नै हुनेछ । अझ महत्वपूर्ण स्विङ्ग स्टेट भनिएको जोर्जिआ र नोर्थ क्यारलाइनामा कौतुहलताका साथ मतगणना अघि बढिरहेको छ ।

तर यदि राष्ट्रपति ट्रम्पले आफ्नो पुनः निर्वाचनलाई पक्का गर्ने हो भने उनले फ्लोरिडा र पेन्सिलभेनिआमा जित हासिल गर्नै पर्छ । लगभग सबै मत गणना भैसक्न लाग्दा डोनल्ड ट्रम्पले जो बाइडनलाई निकै महत्वपूर्ण मानिएको फ्लोरिडामा पछाडि पारेका देखिएको छ ।

अमेरिकामा रिपब्लिकनहरूलाई परम्परावादी र डेमोक्रयाटहरुलाई उदारवादी धारको रुपमा लिने गरिन्छ । अमेरिकामा कुल ५३८ वटा इलेक्ट्रोरल कलेज मतमध्ये जुन उम्मेदवारले २७० भन्दा बढी मत प्राप्त गर्न सक्छ उसैलाई विजयी भएको मानिन्छ ।

सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा पनि मतदानमा हिलरी क्लिन्टनले धेरै मत पाएपनि इलेक्ट्रोरल कलेजको मत डोनल्ड ट्रम्पले धेरै पाएर राष्ट्रपतिमा निर्वाचित भएका थिए । अमेरिकामा हरेक चार चार बर्षको नोभेम्बरमा निर्वाचन हुने गर्दछ । त्यस निर्वाचनबाट निर्वाचित नयाँ राष्ट्रपतिले औपचारिक रूपमा जनवरीमा २० तारिखमा शपथ ग्रहण गर्दै ह्वाईट हाउस प्रवेश गर्ने परम्परा रहेको छ ।

प्रतिक्रिया