गोडमेल गर्नको अल्छिले झार नआउने बिषादि हाल्दा तरकारी सखाप
चितवन। पछिल्लो समय धानखेती र तरकारी खेती गर्दा झार नआउने बिषादि प्रयोग गर्ने क्रम बढ्दो छ । माटो बिग्रन्छ भन्ने थाहा हुँदा हुँदै पनि गोडमेल गर्नको अल्छिले किसानले यस्तो किसिमको बिषादि प्रयोग गर्दै आएका छन् ।
चितवन राप्ती नगरपालिका ८ बडहरा तरकारी खेतिका लागि पकेट क्षेत्र हो । स्थानीय किसान नानिबाबु डल्लाकोटिले यो सिजनमा काउली र खुर्सानी लगाएका छन् । झार मार्न वा नआओस भनेर उनले बिषादि प्रयोग गरे । बिषादि प्रयोग गरेको सबै जग्गामा लगाएको काउली र खुर्सानिको बिरुवा मरेका छन् ।
कार्तिक ५ र ६ गते बिषादि प्रयोग गरेर बिरुवा रोपेकोमा ११ गते देखि मर्न सुरु गरेको किसान डल्लाकोटिले बताए । ‘अघिल्लो बर्षसम्म बिषादि प्रयोग गर्दा बिरुवा मरेको थिएन ।’ किसान डल्लाकोटिले भने, ‘यस बर्ष फरक बिषादि प्रयोग गर्दा सबै बिरुवा नस्ट भयो ।’
उनले खुरखुरे स्थित प्रशान्त एग्रोभेटबाट खरिद गरेर ल्याएको सेन्कोर नाम्क बिषादि प्रयोग गरेका थिए । अघिल्लो बर्षसम्म उनले टप स्टार नामक झार नआउने वा मार्ने बिषादि प्रयोग गर्दै आएका थिए । ‘एग्रोभेट सञ्चालकले यहि बिषादि सिफारिस गरे’, डल्लाकोटिले भने, ‘गलत बिषादिले सबै बिरुवा सखाप भयो ।’ उनले १५ कठ्ठामा खुर्सानी र ४ कठ्ठामा काउली लगाएका थिए । पुरानो बिरुवा सखाप भए पछि पुन लगाउन उनले बीउ राखेका छन् ।
तरकारी लगाउन जोताइ देखि हाल सम्म ४ लाख जति खर्च भएको उनले सुनाए । डल्लाकोटीको खेत नजिकैका अन्य २ जनाले पनि सोही बिषादि प्रयोग गर्दा तरकारीका बिरुवा सखाप भएका छन् ।
स्थानीय अम्बिका कंडेलले १० कठ्ठामा भेंडे खुर्सानी र पिरो खुर्सानी लगाएकी छिन । खेती गर्दा उनले ४ कठ्ठामा मात्र झार मार्ने बिषादि प्रयोग गरिन । बिषादि प्रयोग गरेको जग्गामा लगाएको बिरुवा मरेको र बांकिमा राम्रो रहेको उनले बताइन ।
स्थानीय सारदा फुयालको सांढे ५ कठ्ठामा लगाएको तर्कारिको बिरुवा पनि मरेको छ । गलत बिषादि सिफारिस गरेर बिरुवा मरे पछि किसान नानिबाबु डल्लाकोटिले वडा कार्यालयमा क्षतिको बिवरण सहित निवेदन दिएका छन् ।
झार मार्ने वा झार नआउने बिषादि प्रयोग गर्दा माटोलाई असर गर्ने भए पनि श्रमका कारण किसानहरुले यस्तो किसिमको बिषादि प्रयोग गर्नु गलत भएको कृषि बिज्ञहरुले बताउदै आएका छन् ।