जित नजिक पुगेका बाइडेन भन्छन्–‘कोरोना नियन्त्रणमा पहिलो कदम चाल्नेछु’
एजेन्सी । अमेरिकी राष्ट्रपति निर्वाचनमा जित नजिक पुगेका डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेनले कोरोना महामारी नियन्त्रणमा पहिलो कदम चाल्ने घोषणा गरेका छन् ।
देशवासीका नाममा सम्बोधन गरेका बाइडेनले कोरोना नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रका विज्ञसँग सल्लाहसमेत गरिरहेको बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सम्बोधनका क्रममा उनले मृत्यु भइसकेकालाई बचाउन असम्भव रहेपनि जीवितहरुलाई दीर्घ बनाउन सकिने बताएका थिए ।
यस्तै उनले आफू जित नजिक पुगेको भन्दै सबै मत गणना भएपछि भारी मतले विजयी हुने समेत दावी गर्दै आफूविरुद्ध परेका मतहरुको सम्मान गर्ने बताएका छन् ।
उनले भनेका छन्, ‘मेराविरुद्ध पनि मत परेका छन् । तिनको पनि सम्मान गर्नेछु । राष्ट्रपतिको रुपमा गर्ने यही हो, सबैको पक्षमा काम गर्ने छु ।’ उनले आफ्नो गृह राज्य डेलावेरबाट सम्बोधन गरेका थिए ।