मिस कल (कथा)
केशब नियात्री
एकतमासले बजिरहेको मोवाइलको घन्टीले मेरो मथिङ्गल हल्लायो । कोठाको पल्लो कुनामा चार्जमा राखि छाडेको मोवाइल उठाउन जाँगर चलेन । उसो त कात्तिक अन्तिम साता लाग्न थाल्दा नथाल्दै राजधानी चिसिँदै गएको छ । विहानीको पहिलो पहर नलाग्दै आएको फोनले दिक्क लगायो ।
‘उफ्, सुत्न पनि नदिने भए !’ एकोहोरो बज्न थालेको मोवाइल तिर ध्यान लगाउँदै तातो सिरक बाट बाहिर निस्किएँ ।
मोवाइल छेउ पुग्दै गर्दा रिङ बज्न छोड्यो । चार मिसकल रहेछ । नचिनेको नम्बरबाट फोन आएको रहेछ । नम्बर सेभ भएको भए चिन्न सहज हुन्थ्यो ।
‘को होला विहानविहानै फोन गर्ने !’ नम्बर सम्झने प्रयास गरें । कल ब्याक गर्न मन लागेन ।
दुई तलामाथि मेरो कोठा । ढोका खोलेर पुर्वतिर नियाले, घाम टुपुल्की सकेका रहेनछन् । बाहिरको चिसो हावाले पाखुराका रौं ठाडा भए ।
ट्वाइलेट गएँ ।
लगभग ३ मिनेट पछि आएँ । मोवाइलमा फेरी मिसकल रहेछ ।
‘हैन को हो यस्तरी काम नपाउने ?’
कल ब्याक गरें ।
रिङ गयो, तर, फोन उठेन । पुनः कल गरें । दोस्रो पल्ट पनि उठेन ।
ढोका खुल्लै थियो बाहिरको सिरेटो कोठाभरी छिर्यो । को होला काम नपाउने ? मनमा कुरा खेले । चार्जबाट मोवाइल निकालेर घडी हेरें । ४ पनि बजेको रहेनछ ।
सिरकमै गुजुल्टीएँ ।
००००
हाई !
घरवेटीकी सानी छोरीले ढोका बाहिर कराएको सिरक छेडेर कानमा पस्यो ।
२ वर्षकी पनि छैन होला, म सँग सधैं झ्याम्मिन्छे । उसलाई विहान र बेलुकी मेरो कोठामा नछिरी चित्त बुझ्ैन । ढोका ढकढक गर्दै अर्को पल्टपनि हाई ! भनेपछि मलाई उठ्न कर लाग्यो ।
ढोका खोलें, घाम डाँडापारी आइसकेछन् ।
‘हाई !’ मेरो उत्तरमा मुस्कान छर्दै हाई भनी उसले । मैले ‘गुडमर्निङ’ भनें ।
उत्तर नदिइकन उ सरासर कोठाभित्र छिरी । म उसकै पछि लागें । ओच्छ्यानमा चढ्न लागि । जुत्ता लगाएकीले मैले चढ्ने अनुमति दिइन ।
‘नाई नाई हुन्न !’ मेरो असहमतिले उसका पाइला पलंङमा पुगेनन् । छेउको टेवुलमा ल्यापटप थियो, ऊ किबोर्ड थिच्न थाली । म भान्सामा पसें ।
०००
एकोहोरो छ मेरो जिन्दगी ।
विहान उठ्, नित्यकर्म गर, खाना पका खा अनी कार्यालय हिँड ।
चार महिना यता म एक्लो छु, बैरागी जस्तो । एकलकाटे जस्तो ।
कार्यालयमा अफिसियल काम वाहेक अरुसँग खासै कुरा हुन्न । कोठामा आएपछि पनि ढोका थुन्यो, पकायो खायो, काम छ भने यसो गर्यो अनी सुत्यो ।
कुमालेको चक्र जस्तो । हुन त म बैरागी जोगी पक्कै हैन । परिवार छन्, साथीभाई, इष्टमित्र सबै छन् तर, खाने र सुत्ने बेला एक्लो हुन्छु ।
तर, लगातार २ दिनदेखि आएको मिसकलले मेरो मथिङ्गल हल्लाई दिएको छ । तन्द्रासँगै एकाग्रता भंग गरिदिएको छ ।
को होला ? को होली ! अहँ कतैबाट पत्तो लगाउन सकिन । हुन त मैले त्यो मिसकलका बारेमा कसैलाई भनेको पनि छैन नी कहाँ बाट पत्ता लगाउनु । तर, दिनभर कार्यालयमा त्यहि नम्बर हेर्दै टोलाए । एक दुई पल्ट कल ब्याक गरें । उठेन ।
मोवाईलको ट्रु कलरले पनि केही देखाएको थिएन । ‘आ, जोसुकै होस् !’ मनमनै भनेपनि विहान विहानै निन्द्रा विथोलिदिँदा चैं दिक्क लाग्यो ।
आफ्नो विगत सम्झें, कतै भूपू प्रेमिका पो होकी !, कोही केटी पो होकी, वा कोही शत्रु जसलाई मैले यस्तरी नै दुखः दिएको थिएकी ?’
तर, मेरा स्मृतिमा मैले यस्तरी दुखः दिएको कसैलाई थिएन । स्कुल, कलेज, पूर्व मेचीदेखि महाकालीका स्मृतिहरु सम्झने चेष्टा गरें । सबैलाई कम्प्युटरकाे जस्ताे गरी एक एक गरी त कहाँ सम्झन सकिएला र ! मैलेपनि सकिन ।
०००
भोली शनिबार, विहान साँढे पाँच बजेबाटै डिउटी छ । अर्लाम लगाएँ । तर, मेरो अर्लाम भन्दा अगाडी फेरी उसकै कल आयो । पहिलो रिङ आउने वित्तिकै उठाउन गएँ । तर, रिङ काटियो ।
‘हे भगवान, कुन चैं हो व्यानब्यान काम नपाउने ?’ रिसले आँखा पनि देखिन तुरुन्तै कल ब्याक गरें ।
अहँ, फोन उठेन । ‘माफ गर्नुृहोला तपाईले….’
यस्तरी विहान विहानै डिष्टर्ब गर्नेलाई अगाडी भेटे मोवाइलकै झटारो हान्थें ।
दोस्रो पल्ट कल ब्याक गरें ।
ओहो ! फोन उठ्यो ।
‘हेल्लो’ उताबाट जवाफ नआएपछि मैले नै भने ।
कुनै जवाफ आएन । ‘को बोल्नु भएको हो ?’ किन विहान विहानै डिष्टर्ब गर्दै हुनुहुन्छ ? तपाईलाई म चिन्दछु ?’ प्रश्न माथि प्रश्न गरें ।
अहं ढुंगा बोल्ला उताबाट कुनै उत्तर आएन । दुई मिनेट भइसक्यो, कुनै साईं सुईं पनि आएन ।
‘बोल्न नआउनेले किन फोन गर्नु ? अरुलाई यस्तरी डिष्टर्ब गरेर तपाईंले के पाउनु हुन्छ ?’ काम नपाए गरेको हो कि, के हो ?
तीन मिनेट गइसक्यो जवाफ आएन ।
फोन काटेर पुनः डायल गरें । तर, फोन उठेन ।
अब त अत्ति भो, ‘तपाई, तिमी, तँ को होस् म चिन्दिन, यसरी विहान विहानै मान्छेलाई डिष्टर्ब गर्नु राम्रो होइन, अब आइन्दा फेरी कल आयो भने म पुलिसमा रिपोर्ट गर्छु ।’ म्यासेज लेखिदिएँ ।
साँढे चार हुँदै रहेछ । सुत्न मन लागेन । बाहिर निस्किएर चिसो हावा खाएँ ।
दैनिकीसँगै कार्यालयमा पनि कतै फोन उठ्छ की भनेर ट्राइ गरें । उठेन । ‘त्यत्ति लेखेपछि चैं फोन नआउला भन्ने भो’ एक प्रकारले मन शान्त बनाए ।
०००
‘टिङटिङ, टिङटिङ’
आजपनि विहानै मोवाइलको घन्टी बज्यो । लगभग त्यहि टाइममा ।
टाउको सिरकभित्र गुजुल्ट्याउँदै जवरजस्ती सुतें । हिजो अस्तिको जस्तो लगातार नआएपनी आधा रिङ आयो । लामो समय रिङ बजेन ।
आजपनि घरबेटीकी छोरीले ‘हाई’ भनी । मेरो निन्द्रा सकियो । उठेर ढोका खोल्दै मोवाइलमै हात लगें । ५ मिसकल रहेछ ।
‘अब देखि मोवाइल साइलेन्ट र फ्लाइटमोडमा राख्छु ।’ मनमनै भने । तर, म कहिल्लै मोवाइल साइलेन्टमा राखेर सुत्न सक्दिन । कार्यालयको कामले कहिले कााही विहान विहानै फोन आउन सक्छ । राती पनि फोन आउन सक्छ ।
तर, यो विहान विहानको मिसकलले आजकल मेरो ध्यान बाडिँएको छ ।
०००
‘विहान ४ नबज्दै मिसकल आउँछ हो, एक हप्ता भो राम्ररी सुत्न नपाको’ दिउसो अफिसमा सहकर्मीलाई सुनाएँ । उसले नम्बर माग्यो, ‘९८०७…..’ मैले नम्बर दिएँ ।
उसले ल्याण्डलाइनबाट डायल गर्यो । तर, फोन उठेन । तीन चार पल्ट रिङ गयो तर, उठेन । ‘को रहेछ त ?’ साथीको प्रश्न थियो । ‘थाहा पाको भए त मै तह लगाई हाल्ल्थेनी’ मैले उत्तर दिएँ । उसले मोवाइलबाट पनि ट्राइ गर्यो । तर, फोन उठेन ।
‘आजपनि आयो भने, प्रहरीको मा जानपर्छ ।’ उसले भन्यो ।
०००
ओहो, आज त कल आएन ! । म मज्जाले निदाउन पाएँ विहान ७ बजेसम्म । सन्तोषको स्वास फेरें । नित्यकर्म गरेर कायर्यालय तिर हान्निएँ ।
‘तपाईंको रोग मलाई सर्यो ।’ साथीले कार्यालय प्रवेश नगर्दै भन्यो ।
‘के भयो र ?’
उसलाई पनि मिस कल आउन थालेछ । विहानैको दुई मिसकलले उसको निन्द्रा विथोलिएछ । ‘तपाईंलाई मिसकल आएको नम्बरले हैन मलाई अर्कै नम्बरबाट आज विहान २ मिसकल आयो ।’ उसले भन्यो ।
म आश्चर्यमा परें ।
‘पक्कै पनि यो त्यहि मोवाइलवालाको नम्बर हुनुपर्छ । म प्रहरीकोमा जान्छु यार !’ उसले भन्यो । ‘श्रीमतीको अंगालोमा बेरिएर सुतेको बेला यस्तो मिसकल आउँदा चैं दिक्कै लाग्दो रैछ हो ।’ उसले भन्यो ।
‘केटी रहेछि भने त मज्जाले गफ गर्न पाइन्छ नि, बोले त पट्याउन पनि हुन्थ्यो ।’ मैले भने ।
‘अब नबोल्ने रिङ मात्रै हान्नेलाई कसरी पटेयाउनु नी ?’ उसले प्रश्न गर्यो ।
मैले आइडिया दिएँ, ‘४ बजे तिर मिस्कल आउँछ, अब हामी ३ बजे नै कल दिउँ !’ मैले भने ।
‘हो यार ! २ जानाले नै कल दिउँ त के हुँदो रहेछ ?’ उसले भन्यो ।
विहान मित्रले ३ बजे मलाई नै कल गरे ।
यसपल्ट मोवाइल सिरानी छेउमै थियो, हत्तपत्त ३ बजे नै त्यहि नम्बरमा कल गरें । तर, त्यो नम्बर त स्विच अफ रहेछ । ४ बजेतिर पुनः कल गरें । फोन अन त भएछ तर, कल उठेन ।
साथीलाई आएको नयाँ नम्बरको पनि सेम चाला ।
यो नित्यकर्म चल्दैछ दुई चार दिन देखि उताबाट मिसकल आउँछ, म पनि यताबाट मिसकल दिन्छु । हाम्रो मिसकल बाटै कुराकानी हुन्छ । उसले मलाई सम्झन्छ । मैले उसलाई सम्झन्छु ।