एक कार व्यापारीका छोरा बाइडेन, शक्तिशाली ट्रम्पसँग कसरी आइपुगे भिड्न ?

एजेन्सी । करीब ५० वर्षसम्म सार्वजनिक र दुई पटक उप-राष्ट्रपतिका रुपमा काम गरिसकेपछि जो बाइडेन अहिले राष्ट्रपतिको रुपमा चुनिए । अमेरिकी सञ्चार माध्यमहरूका अनुसार पेन्सलभेनिया राज्यको मतगणना सकिएसँगै बाइडेनका लागि ह्वाइट हाउस प्रवेशको बाटो खुलेको हो ।

बीबीसीले गरेको प्रक्षेपण अनुसार उनले यो महत्त्वपूर्ण राज्यमा जित हासिल गरेपछी उनीसँग २७३ इलेक्टरल कलेज मत हुनेछ जुन जितका लागि आवश्यक २७० मत भन्दा बढी हो । यद्यपी उनले राष्ट्रपतिको कुर्सीमा औपचारिक रुपमा बस्न भने जनवरीसम्म कुर्नु पर्नेछ ।

याे पटककाे निर्वाचन कसले जित्न सक्छ भन्ने अड्कालबाजी लगाउन सक्ने अवस्था पनि थिएन । यो चुनाव कोरोना महामारीको संक्रमणकालीन समयमा भयाे जुन विश्वका १८० भन्दा बढी देशमा फैलिसकेकाे छ । यस भाइरसले अमेरिकालाई सबैभन्दा नराम्रो तरिकाले प्रभावित गरेको छ । साथै, यो अवधिमा देशभित्र सामाजिक उथलपुथल पनि देखियाे ।

यी सबै माहाेलका बिच बाइडेनले आफ्ना प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पलाई पराजित गरे । यस वर्षको सुरुवातमा बाइडेनसँग चुनावी अभियान चलाउनका लागि पैसा थिएन, जति आवश्यक पर्छ । उनको गोजी रित्तो थियो । तर उनले चुनौती झेलेरै अभियान सुरु गर्ने निर्णय गरे । त्यो पनि ट्रम्पविरुद्ध, जसले आफ्नो राष्ट्रपतिको कार्यकालको अभियानका लागि अरबौँ डलर जुटाएका थिए ।

अप्रिलदेखि बाइडेनले आफ्नो चुनावी अभियानलाई चन्दा संकलन अभियानमा रूपान्तरण गरे र सम्भवतः ट्रम्पको चुनाव अभियानको लापरवाहीका कारण उनले उनी भन्दा धेरै पैसा संकलन गरे । अक्टोबरको अन्त्यसम्ममा बाइडेनकाे चुनाव अभियानमा ट्रम्पको अभियान भन्दा १४.४ कराेड डलर भन्दा अधिक पैसा थियाे । उनले हरेक महत्वपूर्ण राज्यमा यति धेरै टेलिभिजन विज्ञापनहरू दिए, जुन उनका प्रतिद्वन्द्वीहरूले प्रतिस्पर्धा गर्न सकेनन् ।

तर पैसा नै सबथाेक हाेइन । चार बर्षसम्म जब ट्रम्पले कम पैसा कमाएर अभियान चलाउँदै थिए, क्लिन्टनको इन्जिनियरको लागि पैसाको अभाव थिएन । २०२० मा कोरोना महामारीका कारण एक राज्यबाट अर्काे राज्यमा गएर, घुमेर चुनाव अभियान सञ्चालन गर्न सम्भव थिएन ।

यस समय बाइडेनले आफ्ना मतदाताहरूलाई उनीहरूको घरमा सजिलैसँग आफ्नाे सन्देश पुर्याउन सके, मिडिया विज्ञापनमार्फत् । र उनी ट्रम्पलाई कट्टर प्रतिस्पर्धा दिन रूढीवादी एरिजोना र अत्यधिक प्रतिस्पर्धी जर्जियामा सफल भए ।

निर्वाचनमा ट्रम्पलाई हराउने बाइडनको जन्म सन् १९४२ नोभेम्बर २० मा पेन्सिल्भेनिया राज्यको स्क्रान्टनमा एक मध्यम वर्गीय परिवारमा भएको हो । उनको पूरा नाम जोसेप रोबिनेट बाइडन जुनियर हो ।

उनका पिता जोसेप बाइडन सिनियर सफाइ कारखाना र कार बेच्ने कम्पनीमा काम गर्थे । सानाेमा उनकाे आवाज अड्की-अड्की आउँथ्याे । भक्भकाउँदै बोल्ने बाइडन राम्रोसँग आफ्नो कुरा राख्न समेत सक्दैनथे । पछि उनले लामा वाक्यहरु कण्ठस्थ गर्दै त्यसलाई ऐनाअघि बसेर भन्ने अभ्यास गरे र आफ्नो कमजोरीमा सुधार ल्याए ।

सानाेमा उनी एकदमै मेहनती थिए । स्कुल पढ्दा परिवारलाई सहयोग गर्न र आफ्नो पढाइको शुल्क तिर्न बाइडनले विद्यालयका झ्याल पुछ्ने र विवाह समारोहको बगैंचा सफा गर्ने लगायतका कामहरु गरे । पढाइमा उनी सधैँ उत्कृष्ट नै थिए । फुटबल खेल्नमा रूची राख्ने उनकाे ध्यान विस्तारै राजनीतितर्फ माेडियाे र ७८ वर्षकाे उमेरमा राष्ट्रपतिकाे यात्रासम्म आइपुगे ।

बाइडनको वाशिङ्टनसँगको नाता ४७ वर्षअघि सन् १९७३ मा जोडिएको थियो जब उनी अमेरिकी सिनेटका सदस्य बनेका थिए । अनि उनको पहिलो राष्ट्रपतीय प्रचार अभियान ३३ वर्षअघि सन् १९८७ मा भएको थियो । उनी मतदातालाई आकर्षित गर्न सक्ने नेता हुन् ।

बाइडेन सन् २००९ देखि सन् २०१७ सम्म बाराक ओबामाका उपराष्ट्रपतिको जिम्मेवारीमा थिए । बाइडेनसँग राजनीतिको लामो अनुभव छ भने उनी विदेशनीतिका ज्ञाता हुन् । उनलाई प्रखर वक्ता राजनीतिज्ञका रूपमा समेत चिनिन्छ । उनी स्वभावैले सामान्य नागरिकसँग घुलमिल हुन सक्ने र सहज व्यक्ति भएको बताइन्छ । बाइडेनले अमेरिकी सिनेटका चुनाव सात पटक जितिसकेका छन् ।  करिब ५० वर्षदेखि उनी अमेरिकाको उच्चस्तरको राजनीतिमा संलग्न छन् ।

प्रतिक्रिया